एउटा कमल गमलामा हाँसिरहेछ ?
अँहँ, होइन
किनकि त्यहाँ हिलो छैन,
बजारदेखि किनेर ल्याइएको
दुई केजी बालुवामा मिसिएको पहेँलो माटोमा
यो फूल फक्रन सकेन,
वर्षाको झरीमा ट्वारट्वार कराइरहने
भ्यागुताहरुको उपस्थिति विहिनताको अवस्था
कमलका साथी विषालु र विषरहित सर्पहरु
छैनन्, त्यहाँ।
दबदबे हिलोमा लुटुपुटु गर्ने गड्यौँला,
जुका र माछाहरुको अन्तरभाव र मित्रताको
आभास नपाइने ठाउँ,
हाँस्न सकेन कमल
अनि ऊ सोच्छ कि आफू भित्रको
सुषुष्त ज्वालामुखीलाई
निमन्त्रणा गरुँ र आफ्नै
पर्खालसँग बज्रिउँ ताकि
उकुसमुकुसको पुष्पकमलबाट
छुटकारा पाई फेरि हिलोमा फुल्न सकोस्,
जहाँ
झ्याउ, लेउ र हाइड्रिलासँग आफ्नो
सुवास साट्न सकोस्,
आकासमा उडिरहेको सारसको
क्रियाकलाप हेर्दै एक
स्वतन्त्र अवलोकनकर्ताको भूमिका
निर्वाह गर्न सकोस्,
अट्टहाँस छुटेको प्रभात होस्
जोस र जाँगरले भरिएको घाम होस्
सन्ध्यामा पनि ऊ मलिन नहोस्,
सबै जलचरसँग आफ्नो निदरी
पनि मिसाउन सकोस्,
हो, यस्तो पुकारा गरिरहेको
गमलाको कमलले एकथोपा
शुद्ध मिनरल वाटरले
सास अल्झाउन कदापि चाहँदैन,
उनी ऊ फेरि सोच्छ,
भूकम्प आइदेऊ,
ताकि बेस्सरी
कम्पन भएर गमला भुइँमा बजारिओस्
त्यति नै खेर बाढी आओस्
त्यो विजयको बाढी हुनेछ
गमलाको कमलका लागि
त्यसैमा गमलाको कमलको
जिन्दगी विलिन भएर जानेछ
अनि एउटा नयाँ कमल
मुस्कुराइरहेको कमल,
हाँसिरहेको कमल,
विजेता कमल, स्वतन्त्र कमल,
हिलोको कमल
हाँसिरहेको हुनेछ ।
नेपालगञ्ज, बाँके
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।