हो

तँद्वारा नै जन्मजात
अलग्गताको चिनारी ओढाइएकी
एक अछुत हुँ
तर मैले यो बतासलाई छोएकी छु
ए समाज
के अब तँ सासै फेर्न छोड्छस् ?
हेर नियालेर
म त्यही अछुत हुँ
जसलाई तैंले तल्लो जातको आडमा राखेर
पटकपटक पिल्सिन बाध्य गराइरहेको छस्
एक अछुत

तर मेरा यी कलिला पाइलाले तँ हिँड्ने बलिया
गोरेटाहरू छोएका छन्
ए समाज
के अब तँ आफ्नो यात्रा नै रोकिदिन्छस् ?
म अछुत हुँ
त्यही अछुत
पापको भण्डार
तर हेर
मेरा यी खुल्ला आँखाले हरेक मठमन्दिरमा
आफ्ना सपनाका त्यस्ता कयौं भारी बिसाएका छन्
ए समाज
के अब तँ पुण्य नै बिर्सिन्छस्
म अछुत हुँ
एक अछुत
जसलाई तेरो सामु रहेर पनि खुलेर स्वतन्त्र रूपमा बाँच्ने अधिकार छैन
तर हेर्
मेरो अन्तर हृदयले भरपूर जलाएको छ तेरैसामु खडा भएर
आज समानताको दियो

ए समाज
के तँ अझै अन्धो नै रहन्छस् ?
ठीक छ
तँ आफ्नो अड्डामा बसेर अडान नै लिन्छस् भने ठीक छ
तर यहाँ सवाल मेरा पनि छन्
किनकि उपल्लो जातका भान्छामा
अन्न पाक्दा छोइने डरले
यो मनलाई कुँडालेर कसैका कोठाबाट
सरक्क बाहिर मैले पनि निस्किनु परेको छ
त्यसैले
त्यसैले बरु यसो गरौं
एकपटक तेरो र मेरो निधार च्वाट्टै काटेर हेरौं
मेरो निधारमा अपहेलित हुनै पर्ने बाध्यतालाई
यदि कालो रगतले लेखिएको रहेछ भने –
म हार मानौंला यो भेदभावको विरुद्ध
म प्रकृतिसँग गुनासो पनि गरौंला
हैन भने ए समाज
अब त मान्छे बनिदे !
२१ औं शताब्दीको जमाना हो यो
ए समाज
अब त अन्धविश्वासको मुखुण्डो उतारिदे !!

उदयपुर