अचेल
जङ्गलमा रुखहरू उम्रदैनन्
भक्कु घरहरू पलाउँछन्
घरहरूले घरकै लागि रुखहरू ढलाउँछन्

जङ्गलको हरियो छातीभित्रको न्यानोमा रमाउने
रानीचरी सत्ताच्युत भएर
बेपत्ता भइसकेकी छ

हेर्दाहेर्दै
क्यामुनाको त्यो रुखको अपहरण भएछ
आरूपातेको त्यो रुखको पनि चीरहरण भएछ
गाँस, बास, कपासको आन्दोलनमा
जङ्गलको बासको उठीबास भएछ

रातभरि/दिनभरि ठिङ्ग उभिएर
गाउँलाई पहरा दिने
सैनिक धुपीहरू
कसरी कसको आक्रमणमा मारिए हँ ?

धेरै भयो
विधवा चाँपको सेतो अनुहार नदेखेको
दुलही गुराँसको रातो अनुहार नदेखेको
सहुरको मगमगाउँदो बोक्रा चपाउन नपाएको
धेरै भयो

उहिले
लटरम्म पाकेको ऐँसेलुको स्वादमा मक्ख परेको बेला
त्यसको काँडाको घोचाइमा पनि
मजा मान्ने मनभित्र
अचेल
बनपाखाका चकमन्न ऐय्याहरू कति दुख्छन् कोनि !

मान्छेलाई सन्चो त भएकै हुन्छ कि जङ्गलको दुखाइमा
आजभोलि आफ्नै दुखाइमा अरूलाई रमाइलो भएझैँ ?

अचेल
मैले मन पराएका चराहरू वनमा बस्दैनन्
उनीहरू टिभीभित्रको जङ्गलमा सरेका छन्
मैले सास फेर्ने
हावाको ओहोरदोहोर गराईमा पनि
उहिलेको जस्तो रोमान्टिक स्पर्श पाउँदिनँ
उहिले
घाँस-दाउराको भारी बोकेर
तिर्खाएको बेला पिएको
त्यो अमृतमय पानी
अचेल
कतातिर बग्छ कोनि !

मेरी बज्यूले खाली खुट्टै
दाउरा बटुल्ने वनपाखामा
मेरा बाजेले खाली खुट्टै
बाकल बोक्ने वनपाखामा
आजभोलि पर्यटकलाई बोकेर
गाडाहरू खोक्दै दगुर्छन्
भटभटेमा प्रेमिकालाई चढाएर
प्रेमीहरू बेपरवाह कुद्छन्

हिजोआज
वनपाखाको छाती खनिएर
किच्च हाँस्ने विकासको गाउँमा
तिर्खाएका खाली भुल्डुङ र बाल्टीहरूको जुलुसले
पर्खिबस्छन् नगरपालिकाको पानी बोक्ने गाडी

उहिले
सलल्ल पानी बग्ने खोलाहरूमा
अचेल
व्हिस्पर र स्टेफ्रीका फोहरी जगटाहरू
तिर्खाएर पर्खिबस्छन् बर्खाको भेल !
अल्झिएर पर्खिबस्छन् भतुवा कुकुरको टोकाइ !

उहिले
हरिया पोथ्रा-पोथ्री र अग्ला रुखका हाँगाहरूमा उफ्रँदै
मीठा स्वरहरू निकाल्ने
चराहरू बस्ने त्यो ठाउँमा
अहिले
बाक्लो गाउँ बनिएको नग्न सत्य
दन्तेकथाजस्तो लाग्छ
मेरो नातिलाई

मेरा बाजेलाई छोएका अदूषित बतासहरू
मेरी बज्यूले निर्धक्क फेरेकी जैविक सासहरू
दिनहुँ हिउँलाई पोलिरहने वर्तमानमा
मेरो नातिलाई साँच्चिकै लाग्दै नलाग्नु
मलाई त लाग्छ
विजयी मानव सभ्यताको पराजय हो

अहो!
त्यो रमाइलो परिवेशको घमाइलो अतीत
हरियो रङ्ग नै हराएर
इतिहासधरि बन्न सकेन रैछ
मेरो नातिका आँखामा
अचेल ।

*****
डाउहिल, खरसाङ, भारत