आफन्तहरू आइसके,
हेर त उ,
मलाई लिन मेरा पनुज मित्रहरू आउँदैछन्
भज्दै भजनहरू !
अरे अर्द्धाङ्गिनी, नरोऊ त्यसरी !
म त जानुपर्छ प्रिये !
खै, मेरा सन्तानहरू अहिलेसम्म आइपुगेका छैनन् !
हेर बन्धनहरूबाट मुक्त हुन लागिरहेको छु ।
अलौकिक आनन्दमा डुबिसकेँ ।
कुनैपनि गुरुत्वाकर्षणले मलाई समात्न सक्दैन ।
फर्किएर फेरि जालभित्र पस्न सक्दिनँ ।
समय उम्किसकेको छ,
त्यसैले म पनि ।

म मेरो मृत्युदेखि जन्मसम्मको स्मृतिको यात्रा हिँडिसकेँ,
सारा संस्कारहरू प्राणको खल्तीमा हालेसकेँ ।
हेर त प्रिये !
म अस्तित्वको गर्वभित्र पसिसकेँ ।
त्यसैले भनेको
तिमी विश्वास गर मृत्युले
म मर्दिनँ ।

आहा !
एक-दुई कदम हिँडिसकेँ ।
खै, मैले आफूसँग केही लान सकिनँ,
लान पनि चाहदिनँ ।
सन्तुष्टको भारी बोकेर
मुक्तिका पाइलाहरू हिँडिरहेको छु ।
संसारको नियम र जीवनको नियति यस्तै छ,
म जाँदैछु—
बिदा !

मृत्युको चेतनाले जीवनका मूल्य र उद्धेश्यलाई बोध गराउँछ । जीवनप्रति गम्भीर बनाउँछ । जीवनको अर्थ बुझाउँछ । मृत्युबिनाको जीवन अचल हुन्छ । यति अचल कि त्यो हाम्रा जीवन र संसारका निम्ति काम नलाग्ने हुन्छ । मृत्युको चेतनाले नै मृत्युलाई चिनाउँछ । जसले मृत्युलाई चिन्दछ उसले साँचो जीवन जिउँदछ । मृत्युको चेतनाले हामीलाई सिर्जना, खोज, आविष्कार, मानवता, प्रकृति र स्रोतको नजिक लाँदछ । कतिले मृत्युलाई भ्रम पनि मान्ने गरेका छन् । त्यसैकारण मृत्यु सिर्जनाका विषय पनि हो । एउटा नित्य प्रक्रियाभित्रका सुरु र अन्त पनि हो । एउटा कवितादेखि अर्को कवितातिरको यात्रा पनि हो ।

कविता लेख्नु भनेको भावनाहरूलाई अभिव्यक्ति दिनुमात्र होइन । साथै कवितालाई माध्यम बनाएर मनका तनावलाई मुक्ति दिनुमात्र होइन । कविताको एउटा भिन्नै स्पेस हिँडेर एउटा विशिष्ट अनुभूति प्राप्त गर्नु हो । कविता लेख्नु भनेको त कविताको अध्ययन गर्नु हो । कविताको अध्ययन गर्नु भनेको एकार्थमा जीवनकै अध्ययन गर्नु हो । कविताको सिर्जना प्रक्रियाद्वारा मानव विकास र ब्रह्माण्डको सिर्जना प्रक्रियालाई बुझ्नु हो । त्यसैकारण एउटा कविताको सिर्जनामा नै कविताको अन्त हुँदैन ।

कविताले यो यस्तो र त्यो त्यस्तो हो भन्दैन बरु भाव उत्पन्न गराउने गर्दछ । श्रोता र पाठकलाई प्रेरित गर्दछ । काव्यात्मक वाक्यहरू वस्तु र घटनाका सत्यता बारेमा नभएर तिनीहरूका बारेमा भावनात्मक विचारहरूका अभिव्यक्ति (एक्सप्रेसन) वा पूर्वनिर्धारण (प्रेसक्रिप्सन) हुन् । काव्यिक वाक्यहरू वास्तविक संज्ञानात्मक (कग्निटिभ) वाक्यहरू होइनन् । कवितामा पाइने निर्णयहरू (जज्मेन्ट्स) वस्तुगत निर्णयहरू होइनन् । कविताले कुनैपनि नैतिक वस्तु वा प्रत्ययलाई आफ्नो सत्य मान्दैन । त्यसरी नै कवितामा नैतिक भाषाको प्रयोग भए तापनि कविताका वाक्यहरूलाई नैतिक न्यायका (निर्णयका) दायरामा (जुरिडिक्सनमा) ल्याउन सकिँदैन । कविताले नैतिक निर्णय (मोरल जज्मेन्ट) का नियमहरूलाई पालन गर्दैन । कविता आफ्नो दायराभित्र आँफैआफ स्वतन्त्र हुन्छ । त्यसैकारण कविताले कहिलेकाहीँ जेसुकै छोएर (महसुस र अनुभव गरेर) आफ्नो दायराभित्रको इच्छानुरूप जेसुकै भन्न सक्छ । कुनैपनि वस्तु, घटना र सत्यलाई नमान्न सक्छ ।

दार्जीलिङ