होमिएका थियौँ
त्यो महाअभियानमा
हामी सँगसँगै
जहाँ हामीले खोजेको
स्वर्ग थियो
त्यहाँ विभाजनका
सबै रेखा मेटिन्थ्यो
रातो किताबको शब्द शब्द
मुखाग्र पारेर
रातो झण्डा फुर्तीसाथ उचालेर
शिरमा मृत्युको निमन्त्रणापत्र टाँस्दै
राता राता आँखा पारेर
आगोझैँ नारा गुञ्जायमान बनाउँदै
जिन्दावाद र मुर्दावादको हात
एकसाथ उठाएका थियौँ
हार्नका लागि
सिक्री र नेलसिवाय
केही थिएन
र जित्नका लागि
सारा संसार थियो
यही भावानाले वशीभूत भएर
पसिना र रगतको धारा बगाउँदै
शरीरभरि डाम र घाउहरू बोक्दै
सँगै विजयको झण्डा गाडेका थियौँ
नेल र सिक्रीहरू फुकालेका थियौँ
तर तिमीले मात्र संसार जित्यौ
र आफ्नो स्वर्गतुल्य संसार बनायौ
अहिले नेल र सिक्रीहरू फुकाएबापत
मलाई आँखा च्यातेर नहेर भन्छौ
कलमको बिर्को खोल्न मनाही गर्छौ
मुखमा पट्टी लगाएर बस्न उर्दी गर्छौ
र तिम्रो संसारमा निषेध गर्छौ
तिम्रो संसारमा जति खाए पनि नअघाउने
घुम्ने मेचमाथिको अन्धो मान्छे अटाएका छन्
कमिसनको कबाफ पकाएर पस्कने
तिहुन चखुवा भान्सेहरू अटाएका छन्
अपराधको मैदानमा म्याराथन दौड्ने
बाहुबली धावकहरू अटाएका छन्
सुनलाई नून र नूनलाई सुन बनाएर
नाफा मात्र चुस्ने शावकहरू अटाएका छन्
अटाएका छैनन् केबल
हामीजस्ता सबै हारेका
भुइँमै टास्सिएका मान्छेहरू
जसका लागि लाल चेतना छरिएको थियो
तिनैको नेल र सिक्रीहरू बन्धकी राखेर
तिमीहरूले आफ्नो संसार बनाएका छौ
र तिनीहरूकै लागि अहिले दैलो थुनेका छौ।

 

कर्जन्हा न.पा.-३ बन्दीपुर
सिरहा