१. अहो मेरो त्यस्तो कति प्रिय थलो कीभ नगरी
बसेको नाचेको सब प्रिय तिनीसाथ कसरी !
गरेको यात्रा त्यो प्रथम जुन थ्यो कीभतिरको
मलाई कस्तो भो सरस दिन त्यो थ्यो नि रसिलो ।
२. हुलाकै कस्तो थ्यो सबतिर बसेका सुनयनी
तिनी कस्ता राम्रा हँसमुख सबै कोमल कली
गएको पैलो त्यो अति सरस आराम गृह थ्यो
मिलेको नाच्नै त्यैँ कति प्रिय अहो दिव्य तन त्यो !
३. पुराना मीठा ती सब स्मृति फिरे यै मनभरी
भयो मेरो इच्छा अब सब मिलून् यी सजिलरी
गरौँ यात्रा राम्रो सबतिर हुँदै कीभ पुगिने
चढी रेलै उस्तै सब जनसितै स्नेह गरिने ।
४. पीटर्स्बर्ग अहो सुरम्य नगरी आना र आमा त्यतै
भेटेरै तब मित्र बन्धु सब त्यैँ यात्रा गरौँ कीभकै
मास्कोबाट बढेर कीभतिरको बाटो समाई दिने
कस्तो त्यो बढिया र रोचक हुने युक्रेनमा पुग्दिने !
५. रूसी मावलबाट ती अति प्रिया आना घरै जानुछ
साथी ती मृदु सङ्सँगै हुन गई युक्रेन छिर्नै त छ
  त्यस्तोमा म सँगै हुने प्रिय कुरा सोच्तै म ऐले बसेँ
संसारी सब मित्र बन्धु अब यी मिल्दै गरून् कल्पिएँ ।
६. त्यस्तो भै रमणीय कीभ पुगिने यात्रा हुने कल्पना
प्रश्विश्येनिय त्यो जगै पुगिदिदा कस्तो हुँदो हो मजा !
त्यस्तो स्वर्ग समान विश्व बनिद्यौ आशा म गर्ने सदा
यात्रा यो जुन कल्पियो मगजमा पुग्नेछ क्वै कालमा !
(साभारः पंक्तिकार चन्द्रकान्त आचार्यको महाकाव्य दर्पण, सर्ग १७ बाट)