प्राय: मान्छेसँग नै, जन्मेदखि हुर्केर
अल्पाहारी स्वान हुँ, रम्छु सधैँ फुर्केर
कैले शाकाहारी म, कैले मांशहारी म
जन्मजात जागिरे, वफादार प्रहरी म ।

भोको चिसो भन्दिनँ, कैल्यै अल्छी गर्दिनँ
घरको सेवा गर्नलाई, कैल्यै पछि पर्दिनँ
कहिले भैरव बन्छु म, देववाहन शक्तिमा
बाँकी काल बित्दछ, मनुष्यकै भक्तिमा ।

विश्वभरि अनेकौँ, जात रुपका साथी छन्
कोही शत्रु थुर्दछन्, कोही मालिक कुर्दछन्
चिन्न सक्ने जत्तिले, गुणकारी ठान्दछन्
बाँकी केही व्यक्तिले, तुच्छ प्राणी मान्दछन् ।

जाति मेरो कुकुर, औधी प्यारो जन्तु म
साथ दिन्छु मैले नै, माया गर्न भन्छु म
नाता हाम्रो बुझ्नेले, पूजाआजा गर्दछन्
गुणी साथी मानेर, मेरो सेवा गर्दछन् ।

सेवा लिन्छु दिन्छु म, गुन सम्झीराख्नू है
मरी लानु के छ र, माया प्रिती गाँस्नू है
आफ्नै साथी सम्झेर, मुस्कुराई हाँस्नू है
आज मात्रै होइन नि, सधैँ सम्झिराख्नू है !