मलाई कला देखाऊ
म कला हेर्न चाहन्छु
मलाई कला सुनाऊ
म कला सुन्न चाहन्छु
म कलासँग सङ्गत गर्न चाहन्छु
विज्ञान त रुखो छ
मलाई विज्ञानसँग सङ्गत गर्नु छैन
म विज्ञानसँग सङ्गत तोड्न चाहन्छु
म कालो छु, विज्ञानले मलाई कालै देखाउँछ
म गोरो देखिन चाहन्छु
म होचो छु, विज्ञानले मलाई होचै देखाउँछ
म अग्लो देखिन चाहन्छु
हो म कालो छु गोरो देखिन चाहन्छु
म होचो छु अग्लो देखिन चाहन्छु
म कलासँग सङ्गत गर्न चाहन्छु
म बोल्छु, मेरो प्रस्तुति तितो सुनिन्छ
मेरो बोलीमा लालित्य भर्न चाहन्छु
म लेख्छु, मेरो शब्द निष्ठुरी देखिन्छ
मेरो शब्दमा साहित्य सिँगार्न चाहन्छु
म हजारौँ झुठलाई साँचो देखाउन चाहन्छु
म हजारौँ सत्यलाई झुठ हो भन्न चाहन्छु
म कलासँग सङ्गत गर्न चाहन्छु
विज्ञानले त मलाई सिर्फ ऐना दिन्छ
म जो हुँ, ऐनाले मलाई त्यही देखाउँछ
म जस्तो छु, ऐनाले मलाई त्यस्तै देखाउँछ
म जे होइन, त्यही बन्न चाहन्छु
म जे गर्दिन, त्यही देखिन चाहन्छु
मैले मजदुरी गर्छु, म मालिक देखिन चाहन्छु
मैले बेइमानी गर्छु, म आध्यात्मिक देखिन चाहन्छु
म आफ्नै मात्र भलो चाहन्छु
तर सामाजिक देखिन चाहन्छु
म कसैको अधीनमा बस्छु
कि अरुलाई अधीनमा राख्छु
तर म स्वतन्त्रताप्रेमी देखिन चाहन्छु
हिजो मैले जे गल्ती गरेँ
आज पनि त्यही गल्ती दोहो¥याउन चाहन्छु
म जडता अँगाल्न चाहन्छु
तर म भन्छु– म परिवर्तनप्रेमी हुँ
म डाइनामिक देखिन चाहन्छु
त्यसैले
मैले विज्ञानले दिएको ऐना फुटाल्न चाहन्छु
म कलासँग सङ्गत गर्न चाहन्छु
मेरो घरको पर्खाल चिरा चिरा परेको छ
भरखरै ढल्ला जस्तो
म रङ्गी विरङ्गी रङले छोप्न चाहन्छु
मेरो पेट जङ्कफुडले जकडिएको छ
आभा ओझेल परेजस्तो
विज्ञानले त मलाई तितो औषधी दिन्छ
म कस्मेटिकले अनुहार टाल्न चाहन्छु
मलाई मेरा बगैँचाका फूलमा विश्वास छैन
प्लाष्टिकका फूलले कोठा चिटिक्क पार्न चाहन्छु
मलाई माटोमा पलाएको दुबोमा विश्वास छैन
प्लाष्टिकको दुबोले जङ्गल सिँगार्न चाहन्छु
मलाई सरलतामा विश्वास छैन
तडकभडक र तामझाम सेलेब्रेशन गर्न चाहन्छु
म कलासँग सङ्गत गर्न चाहन्छु
मलाई नागरिकको विवेकमा पटक्कै विश्वास छैन
नागरिकलाई उल्लु बनाउन चाहन्छु
भित्र भित्रै अरबौँको सेटिङ मिलाउन चाहन्छु
बाहिर सुशासनको भाषण गर्न चाहन्छु
देश परदेशमा पसोस्
दल दलदलमा फसोस्
केही फरक पर्दैन
मेरै हैकम चलाउन चाहन्छु
तर म लोकतन्त्रवादी देखिन चाहन्छु
म गणतन्त्रवादी देखिन चाहन्छु
म कलासँग सङ्गत गर्न चाहन्छु
मलाई ज्ञान नसिकाऊ
मलाई ज्ञानको जरुरत छैन
मलाई विज्ञान नसिकाऊ
मलाई विज्ञानको जरुरत छैन
के पस्किन्छौ, त्यसमा मेरो ध्यान होइन
कसरी पस्किन्छौ, म त्यो हेर्न चाहन्छु
स्वाद कलामा छ
सौन्दर्य कलामा छ
सम्बन्ध कलामा छ
जीवन कलामा छ
मलाई कला देखाऊ
म कला हेर्न चाहन्छु
मलाई कला सुनाऊ
म कला सुन्न चाहन्छु
म कलासँग सङ्गत गर्न चाहन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।