प्रत्येक बिहान
भुकभुके उज्यालोमा
आमा बलेको दियालो बोकेर
मलाई स्कुल पठाउन
अक्करमा बाटो खनिरहेकी हुन्छिन्
मलाई अक्षर चिनाउन
कानका गहनाहरू बेचिन्
आफ्ना सपनाहरू
मलाई नै जिम्मा दिइन्
मैले सिकेका अक्षरमा
आमा आफ्ना सपनाहरू खोज्छिन्
बान्की मिलेका वर्णहरू सुम्सुम्याएर
आमा इतिहास कोर्न आतुर छिन्
यहाँ
आमाले नडो-याई
घामले सभ्यताको बिस्कुन सुकाउँदैन
आमाले नहिँडे
माटोको धुकधुकी चलमलाउँदैन
आमाको स्पर्शमा
बाँसुरीले जागरणको धुन भर्छ
आमाका हातका चुराहरू
चेतनाको प्रज्ञान बटुल्छन्
घामको पर्दाले छोपिन्छन्
आमाका गथासाहरू
च-याउन छ‍ोड्छन् ग्लानि फाटेका औँलाहरू
प्रकृतिको नाभिबाट उद्भव छन् वाणीहरू
आमा विज्ञापन होइन
अखबारका पृष्ठमा छापिने
आमा भौतिक वस्तु होइन
नापेर नाप्न सकिने
अनन्त सगरजस्तो
सर्वोच्च शिखरजस्तो
जति आस्वादन गरे पनि
धित नमर्ने
आमाका कहानी
सन्तानको मुस्कानमा दबिन्छ
दुःखको मेहेरो
आमाको भोक
सन्तानको डकारपछि
जाग्ने गर्छ
आमालाई हेरेर घाम उज्यालो हुन्छ
घामलाई कपाल कोर्न
पटुका कस्न, लुकामारी खेल्न
मुसुक्क मुस्कुराउन
निराशामा आशा जगाउन
आमाले सिकाएकी रहिछन्
त्यसैले
घामले आमालाई दण्डवत् गर्छ
आमा अथक योद्धा
दरिलो पाइलो
कालापानी, लिम्पियाधुरा र लिपुलेकका
बस्तीहरूमा डाँडाभाटा कसेर
शीत र घाम छलिरहने आमाले
निरङ्कुशताका कोर्राहरु खपेकी छिन्
द्वन्द्वका घाउहरु सहेकी छिन्
जप, तप, ध्यान गरेर
सङ्कटको तगारो हटाएकी छन्
जीवनको उचाइ
आमाको काखभन्दा अग्लो हुँदैन
आमाको ममता
भूगोलको सीमाले छेक्दैन
सन्तानलाई उज्यालो दिन
आमा अँध्यारोमा बाँचेकी छन्
आफू डाँडामाथिक‍ो जून हुँदा पनि
आशाको दीप जलाइरहेकी आमालाई
घामले दण्डवत् गर्छ ।