माटो हाम्रो सलसल तलै बग्न थाल्यो अगाडि
उस्तै हाम्रा चपल झरना फर्किएनन् पछाडि
मीठो पानी भनिकन सबै गर्व गर्थ्यौं जहान
के भो यस्तो ! हिमशिखरका सुक्न थाले मुहान

कोशी, काली सब बगर भो’ छैन बाली झुलेको
कर्णालीमा परमुलुकका देख्छु आँखा डुलेको !
बाँच्ने बाटो मुलुकभरको खेतिपाती– किसान
के भो यस्तो ! हिमशिखरका सुक्न थाले मुहान

नौलै आयो चलन अहिले बेच्नु पानी पराई !
सुक्खा लाग्यो मुलुकभरिको अन्न फल्ने तराई
सिँच्दै बग्थे सलल सरिता, लाख खोला जवान
के भो यस्तो ! हिमशिखरका सुक्न थाले मुहान

नालापानीवर छ पहिरो झर्छ तातो जवानी
कालापानीवरपर कतै छैन यो जिन्दगानी !
टिष्टा–किल्ला सबतिर दशा आइलाग्यो समान
के भो यस्तो ! हिमशिखरका सुक्न थाले मुहान

माछापुच्छ्रे भन म कसरी ल्यूँ त तिम्रो सिरानी ?
आफ्नै माटो किन हुन गयो देशभित्रै बिरानी ?
आए वैरी गुपचुप यहाँ लुट्न हाम्रो सिरान !
के भो यस्तो ! हिमशिखरका सुक्न थाले मुहान ।

हालः पोखरा– १७, कास्की