यसपालि फेरि
यसपालि फेरि !
युगौंदेखिको रोगले, अस्वस्थ छिन् मेरी आमा
आफ्ना सन्ततिले कुइँलेका जगल्टाहरू फिँजाएर
आफ्ना सन्ततिले चिथोरेको निरीह अनुहार देखाउँदै
मौन छिन् मेरी आमा स्वस्थ हुने आशमा !
‘म’ पनि त अनभिज्ञ नै छु, उनका यावत् रोगहरूदेखि
एउटा मात्रै रोग भए पो
शरीरभरि नै उनलाई, थरिथरिका रोगले गाँजेको छ
रोग नलागेको कुनै एक अङ्ग खाली छैन
शरीरभरि नै पिप बोकी
मौन नै छिन् मेरी आमा स्वस्थ हुने आशमा !
सात सालअघि बिझेका काँडाहरू झिक्न नपाउँदै
खिल पल्टिएछन् सत्र सालमा नै
काँडाका तुषहरूले गराएछन् भित्रभित्र उनको शरीरलाई
घाउ बढ्दै जाँदा अप्रेसन भएछ छत्तीस सालमा
केही पिप र खिल बाहिर निस्किए पनि
मुख्य खिललाई छोपछाप पारी घाउँमा टाका लगाई दिएछन्
नामका अगाडि डा. भएका कुख्यात डाकाहरूले
त्यतिखेर पनि मौन नै थिइन् रे मेरी आमा स्वस्थ हुने आशमा
अपरेसनमा छुट्याइएका खिलहरूले
उनको शरीरलाई झन् जर्जर बनाएछ
भित्रभित्र अंगहरूमा पिप भरिएर, उनको शरीर
दुखाइले टन-टन हुँदोरहेछ
त्यहि दुखाइ र टन-टनाईले, घाउ फुटेछ छयालीस सालमा
पिप र खिल निख्रिएछन् शरीरबाट, केही आराम पनि भएछ क्यारे
घाउ राम्रोसँग निको नहुँदा, इन्फेक्सन भएछ,
त्यसैले दुःख दिँदैछ हिजो आज !
इन्फेक्सनले बल्झाएछ पुरानो घाउलाई,
भरिएछन पिप र खिल फेरि शरीरभरि नै
सौभाग्य नै भन्नु पर्छ
त्यस्तो हुँदा पनि उनको शरीरमा, किरा भने परेनछन्;
बैसठ्ठी-त्रिसठ्ठीको अपरेसनले निदान
गर्यो कि भनेको इन्फेक्सन र पुरानो रोग
तर अझै बाँकी रहेछन् इन्फेक्सनका मुख्य तुषहरू
त्यसैले लगाएको छ मेरी आमालाई
पिर्लिक्क आँखा पार्दै, मौन छिन् मेरी आमा
अझै पनि स्वस्थ हुने आशमा !
पटक-पटकको अपरेसनले शिथिल बनाएको छ उनलाई
नपरोस् कहिल्यै अपरेसन गर्न अब
नकुयाँलौँ, नचिथोरौँ, घाउ आफैँ निको हुन्छ
घाउ निको भएपछि, न त इन्फेक्सन नत कीरा नै पर्नेछन्
पर्न खोज्ने कीरा आफैँ-आफैँ मर्नेछन्
अनि बल्ल मेरी आमाको वर्षौंदेखिको
अनि बल्ल मेरी आमाको युगौंदेखिको निको हुने आश
यथार्थमै पुरा हुनेछ।