आश्रय भन्दा पर पहिचान हो घर काठमाडौंमा
आवश्यकता भन्दा पर सम्मान हो घर काठमाडौंमा
अतः मनमा आफ्नै ठेगाना एउटा घर–सपना हुर्काएर
अपमान सहँदै पीडामा वर्षौं बाँच्ने गर्छन्
हजारौं परिवार काठमाडौंमा
एउटा बास–सपनाले लखेटिएका उनीहरू
सधैँ आफ्ना आकांक्षाहरूका घाँटी थिच्छन्
सधैँ केटाकेटीका रहरहरूलाई काटकुट गर्छन्
ताछतुछ गर्छन् आवश्यकताहरू सधैँ
खुम्च्याउँछन् हमेसा मन र आँखा
र, बाँच्छन् सम्झौता गर्दै बचाईसँग
जीवनका प्रत्येक घुम्ती र बिसौनीहरूमा

बनेर मरुभूमिको मृग धेरै वर्ष यसरी
जब पाउँछन् आफ्नो इमान र पसिना
वा पुर्खाले खोस्रेका पहाडका खोरिया
वा आवाद गरेका तराईका कठ्ठा र बिगाहा
काठमाडौंमा घर बन्न अपर्याप्त
निर्माण गर्छन् घर
पुरेर आफ्ना आदर्श र मूल्यले जग
घोलेर आफ्ना इमान र कर्तव्यले पिलर
भत्काएर आफू भित्रका समवेदनाहरूले भित्ता
र, विसर्जन गरेर आफ्नो अत्यन्त प्रिय आत्मसम्मानले छत ।

हो, अत्यन्त पीडादायी र अपमानजनक हुन्छ
काठमाडौंमा घर नहुनु
तर, कम पीडादायी छैन
आफूले आफैँलाई मारेर निर्माण गरेको घर हुनु पनि !