म शब्द हूँ

जसलाई तिमी राजा यलम्बर भन्छौ
त्यो त मैले लाखौँ वर्षअघि नै
जङ्गलका पात-पतिङ्गरलाई सोधिसकेको
गाउँखाने कथा हो
पछि त्यही गाउँखाने कथालाई
पात-पतिङ्गरले सम्झेको मात्र हो

जसलाई तिमी राजा मानदेव भन्छौ
त्यो त मैले लाखौँ वर्षअघि नै
किरा फटेङ्ग्राका अगाडि गाइसकेको
भजन हो
पछि त्यही भजनलाई
किरा फटेङ्ग्राहरुले सम्झेका मात्र हुन्

म शब्द हूँ
जसलाई तिमी राजा जयस्थिति मल्ल भन्छौ
त्यो त मैले लाखौँ वर्षअघि नै
कुटो, कोदाला, डोकाहरूका अगाडि भट्याइसकेको
ऋचा हो
कुटो, कोदाला, डोकाहरूले
पछि त्यही ऋचालाई
सम्झेका मात्र हुन्

म शब्द हूँ
जसलाई तिमी राजा महेन्द्र मल्ल भन्छौ
त्यो त मैले लाखौँ वर्षअघि नै
परेवा, भँगेराहरूलाई सुनाइसकेको
मन्त्र हो
परेवा, भँगेराहरूले
पछि त्यही मन्त्रलाई
सम्झेका मात्र हुन्

जसलाई तिमी राजा पृथ्वी नारायण शाह भन्छौ
त्यो त मैले लाखौँ वर्ष पहिले नै
नदी, ढुङ्गाहरूलाई सुनाइसकेको
पौराणिक कथा हो
पछि त
त्यही पौराणिक कथालाई
नदी, ढुङ्गाहरूले सम्झेका मात्र हुन्

म शब्द हूँ
जसलाई तिमी रानी राजेन्द्रलक्ष्मी भन्छौ
त्यो त मैले लाखौँ वर्ष पहिले नै
यी पहाड, बादल, आकाशहरूलाई सुनाइसकेको
दन्त्यकथा हो
पछि त
त्यही दन्त्यकथालाई
यी पहाड, बादल, आकाशहरूले सम्झेका मात्र हुन् ।