एउटा कुरा भन्छु
कसैले यसलाई
भाइरल बनाइदेऊ न है !
दिनप्रतिदिन बढ्दै गैरहेको
पृथ्वीको विषमज्वरोको कथा
दिनानुदिन जन्मिएका प्राणीहरू
कुपोषणले आक्रान्त भएको कुरा
भाइरल भाइरल बनाइदेऊ न है !
भर्खरै जन्मिएका कलिला
बालबालिकाको जीवन
धरापमा पर्न लागेको कुरा
हाम्रो वर्तमान रहर, चाहना र
भोगविलासको वस्तुस्थिति
सुविधा र ऎश आरामको
दीर्घकालीन विकराल असरको बारेमा
कसैले कोही बताइदेऊन है ल !
पानीपट्टी लगाएर हुन्छ कि
सिटामोल खुवाएर हुन्छ
अलिकति भए पनि राहत हुन्थ्यो कि
पृथ्वीको बढदै गैरहेको ज्वरो रोकिदेऊ
अरू कुरालाई एकछिन थाँति राखेर
फेर्ने सास र खाने गाँस
अनि, अन्न उमार्ने माटोको लागि पनि
केही सोचिदेऊ न है !
माटोमा टल्किएका
पानीमा तैरिएका
प्लास्टिक टिप्न आउनेलाई
रुख बिरुवा रोप्ने
खोला सफा गर्ने
वन-जङ्गल जोगाउनेलाई
र, आफू मात्र होइन
अरुलाई पनि बाँच्न सिकाउनेलाई
लौ न,
कसले के कति सक्छ
यिनलाई भाइरल बनाइदेऊ !
भाइरल ज्वरो मात्र होइन
भाइरल कुसंस्कार मात्र होइन
भाइरल विकृति मात्र होइन
भाइरल विसङ्गति मात्र होइन
भाइरल खराब मात्र होइन
भाइरल भोक, रोग र शोक मात्र होइन
भाइरल बखान
विकास, निर्माण, संस्कार, संस्कृति
प्रकृति, पद्धति, संरक्षण
र सभ्यताको पनि हुनुपर्छ
यिनलाई भाइरल बनादेऊ है!
किनकि
अब यी कुरा भाइरल हुनुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।