सपनीमा राति मेरो ऊ आई
म मुस्काएँ, ऊ पनि मुस्काई
अङ्कमाल गरी, कानमा सुसाई
सँगै छ वैकुण्ठ धामको भिषा
लु जुम, सक्कियो अब पर्खाइ
मैले भनेँ, सक्याउनु पर्ने काम थुप्रै
अलि पर्खी, यति बिघ्न केको हतारो
थुप्रै प्रतिज्ञा अपुरै, छन् थुप्रै काम अधुरै
ऋण थरीथरीका टाउकोमा अनेकै
घोच्यो उसलाई मेरो यस्तो धृष्ट्याई
खुस्क्या त छैन कुनै पेच तिम्रो
म आएँ रिहा गराउन तिमीलाई
मृत्युलोक अझै प्यारो तिमीलाई !
राख्या के छ यो भव कारागारमा
चारैतिर शोक द्वेषको झम्मार छ
झुठ छ, फरेब छ, जता आँखा गयो
खरिद बिक्रीको महाबजार छ
समाउँदै हात उसको मैले सम्झाएँ
असल मित छ्यौ
छन् वचन तिम्रा सप्पै सत्य नै
तर, हुँदा रैछन् सिक्काका पाटा दुई
किन छौ तिमी अनभिज्ञ अझै
किन गर्छ्यौ कुरो घामको मात्रै
के छैन छायाँसित परिचय थोरै ?
माने रैछ जगत् यो आडम्बरी
अद्भुत र अदृत्य छ हजार थरी
सुसाउँदै हिँडेको त्यो आवारा बतास
बग्दै हिँडेको खोलाको त्यो कलकल
नीलो सगरमा गुनगुनाउँदै गरेकी चरी
साथसाथै बटुवा बादलको जादुगरी
खिलखिलाउँदो हरियालीको चित्रकारी
भन, छ तिमीमा सामर्थ्य
दिलाउन सक्छ्यौ अन्यत्र कतै ?
सोच, घरमा मुमा पर्खिबसेकी होलिन्
उभिन उनको आँखाअगाडि
भन, साहस जुटाउँछौ कसरी
रोइलो सुरु हुनेछ घरमा विकराल
सोच, मुटुका टुक्रालाई फकाउँछौं कसरी
साथीहरूको जमघट हुने छ धुलिमाटो
भन, यस्ता पापको भार थेग्छौं कसरी ?
कन्थो सुनेर मेरो
आँखा उसका टक्क रोकिए
बडो छट्टु छौं, तिमी जित्यौ म नै हारेँ
लु, तिमीलाई दिए थप म्याद
यसो भन्दै ललाटमा चुम्बन गरी
हृदयसित लगाई मलाई
र चुपचाप अन्तर्ध्यान भई ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।