वर्षौंपछि
आज आएको यो अवसर
पिपलको शितल छहारीमुनि म छु
सँगै उदाएको छ उज्यालो चन्द्रमा
म हेरिरहेछु जूनलाई
र म सम्झिरहन्छ उनलाई
उनको स्निग्ध अनुहार

सम्झनु मात्र याद गर्नु होइन रहेछ
अनुभूत गर्नु रहेछ
उनको सामीप्यको, उच्छवासको
साथको र सहयात्राको

जब बहन्छ हावा मन्द मन्द
तिम्रै स्पर्शको काउकुती लाग्छ
लाग्छ तिम्रो सुगन्ध
बोकेर कुदिरहेछ पवन
जब बिहान देख्छु उद्यानमा
मुस्कुराइरहेका गुलाफका रङहरू
तब तिम्रो मुस्कान
छाउँछ मेरो मस्तिष्कभरि
जब देख्छु सेताम्य मुस्कुराइरहेको हिमाल
लाग्छ, तिम्रै सौन्दर्य चोरेर
गजधम्म उभिएको छ मेरै सामु
रक्तिम साँझमा
तिमीलाई कुर्दै बस्दाको त्यो क्षण
आह्….?
तिमीबिना उस्तै यो साँझ
उराठ लागिरहेछ

यादहरूको धागोमा
गाँसेर प्रेमका थुँगाहरू
तयार पारेको छु
तिम्रो लागि एउटा
प्रेमको माला…
कोरेर प्रेमका शब्दहरू
भरेर अगाध स्नेह भावना
र अनुभूति
यो प्रेमिल कविता तिम्रा लागि
मात्र तिम्रो लागि ।