ए हजुर
किन लड्नु हुन्छ: जात विभेदका लागि
किन जाग्नु हुन्छ: उत्थानका लागि
किन चिच्याउनु हुन्छ: पहिचानका लागि
किन भन्नु हुन्छ:
यो मेरो जात, थर
यो मेरो समुदाय
यो मेरो आवाज
ए हजुर
छप्काई दिनुस्
त्यहीँ खुकुरीले, तिन्का खुट्टा
फुटाइदिनुस्
त्यही घनले, तिन्का टाउका
घोचिदिनुस्
त्यही सियोले, तिन्का नङ्गसिरी
बरु भरियोस्
झ्यालखानाहरू
ए हजुर
नबजाई दिनुस्: सहनाई दमाहा
नचलाई दिनुस्: कल अनि आरन
नभरिदिनुस्:
टोपीमा बुट्टा, कपडामा रफ्फु
नलगाई दिनुस्:
जुत्तामा तुना अनि पालिस
नबनाई दिनुस्:
मन्दिरको घण्टा, अर्घ्यौतो
हलोको फाली, जुवाको नारा
भान्साको चुलेसी, तावा, ओदान डालोमान्द्रो, ठेकी, गाग्री ताउला
मादल
नखोपिदिनुस्:
भगवान् का मूर्ति ( छ र ? )
कसैका शालिक
ए सरकार
फेर्दे न
यिनका जात
राख्दे न
कथित उपल्लो थर
अनि
टाढा सुदुर बस्तीमा
पूर्वकालाई पश्चिम
पश्चिमकालाई पूर्व
गराई दे न
बसाईसराई
ए सरकार
हटाई दे: आरक्षण
न दे: भाषण
न गर्: घोषणा
दे
मेटी दे तिन्का थर अनि जात
लुकाई दे तिन्का थर अनि जात ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 




