बुद्धि भने सधैँ पछाडि हुने
कुरा भने आकास झार्ने
परस्त्रीप्रति जैले व्यभिचार राख्ने
त्यस्तो कुलाङ्गार महात्माको
मरण स्याउँस्याउँती कीरा परेर
न मरोस् म त भन्न सक्तिनँ

बाहिर भने शाहाकारी
भित्रभित्र मांसाहारी हुने
त्यस्ता लम्फु घिचुवाहरूलाई
दङ्ग्दङ्ग्ती गनाउने सिनो
कैले मुखमा नपार्नु म त भन्नै सक्तिनँ

नेपालीलाई विदेशी बनाउने
देशका युवा पलायन गराउने
अनि आफू एकलौटी ढलिमली शासन गर्ने
त्यस्ता राहुकेतुलाई चाँडोभन्दा चाँडो
दिन दशा नलागोस् म त भन्न सक्तिनँ

दिनभरि अरुको कुरा काटी बस्ने
कार्यालयमा काम फिट्टो गर्दै नगर्ने
त्यस्ता दोचारे, कामचोर
कर्मचारीहरूको खाने मुख
सधैँ सोझो होस् भनेर म त भन्नै सक्तिनँ

हर्क साम्पाङको कामलाई नकार्ने
उनलाई बौला पगलसम्म भन्ने भ्याउने
त्यस्ता नरपशुहरू र तिनका आसेपासेलाई
एकएक गरी बौलाहा कुकुरले नटोकोस्
म त भन्नै सक्तिनँ।

विराटनगर -१