अहिले रित्तो

अन्तिम थोपो पनि निचरिएको

सुख्खा बनेको छ, कटुजे खोलो

 

आँशुको

अन्तिम थोपो पनि बगरले शोषेको छ

 

बिहानको नास्ता स्वरुप

चराहरूका चुच्चोमा ती कीराहरू अड्किएका छन्

 

जो कुनै याममा पानीसँग उत्पत्ति भएका थिए

 

कुनै याममा

पानी छङछङ गर्दै फराल्थ्यो

छाँगोमुनि रह बन्दथ्यो

 

जसरी

मानिसहरू पहाडबाट फराल्दै झर्छन्

र मैदानका फाँटहरूलाई भरिभराउ बनाउँछन्

 

आदिम प्रेमिकाले

नीलो कपडा निचरेर

आकाशमा टाँगिदिएकी छे

 

सुक्दैछ आकाश

बादलबाट अन्तिम थोपो

 

सुक्दै गएको छ

मेघालयबाट राग मल्हार

निस्तो मन चपाइरहेका छन् वृक्षहरूले

 

निचरिएका छन् हाम्रा विचारका शृंखलाहरू पनि

जो थोपो बनेर झरेका छैनन्

बरु बाफ बनेर उडिरहेका छन्

 

थोपो थोपो निचोरिएको छ

यो मस्तिष्कबाट विचार

र जीवनबाट जीवन

 

अँध्यारा डहरहरूको यात्राका

अनन्त श्रृंखलाहरूको एक कडी

घिसार्दै जोड्नु छ अर्को कडीसँग

 

भ्रमका अँध्यारा

र भ्रमका उज्याला बादलहरूमा लेख्नु छ

यायावरी गन्तव्यका सोपानहरू

 

बैंस निथ्रिएकी प्रेमिकाझैं

शिथिल बन्दैछन् निस्ता विचारहरू

कुहिरोले ढाकेको छ, खोल्सोलाई

 

समयले

पिरियडको घण्टी बजाउन छाड्दैन

उस्को ड्युटीमा प्रतिबद्धताको कुनै अर्को नज़ीर छैन

 

जीवनको लब्धाङ्कमा

अँकहरू धमिलिएर जाँदा

सपनाहरूले कोल्टो फेरे पनि नतिजा सुक्सुकाउने मात्रै हो

 

नपढे पनि

पुस्तकका पानाहरू पल्टिँदै जानेछन्

अन्तिम पानापछि पनि सकिने छैन कथाको शृंखला

 

नदेखिएका चराहरूको चिर्बिरले

आशाको घामको पर्दा हटाउँछन्

त्यति नै बेला मन्दिरका घण्टीहरू बज्छन्

 

गाइने कीरा हरियो घाँसमा बस्छ

उड्छ र फेरि बसेर पिङ खेल्छ

र जीवनको रहस्यमय किताब लेख्छ

 

अन्तिम रागपछि भुलिएकी प्रेमिकाझैं

बगर जीवन बाँचेको कटुजे खोला

परदेशिएको मौसमको प्रतीक्षाको शीतनिद्रामा छ !

 

पोखरा-१८