अब ऊसँग
केवल
एक सूत्रीय माग छ—
“पुनः रैती हुन पाउँ”
उही मान्छे
हिजो मालिकको पाउमा दाम चढायो
मालिककै विरुद्ध बन्दुकमा बारुद भर्यो
कहिले रुखको छायामा सुसेल्यो
कहिले घामको न्यानो ताप्यो
उही मान्छे
कहिले अनेक वादको वफादार सिपाही बन्यो
कहिले तमाम ‘स्वतन्त्रहरू’को फेरो समाउँदै
आफू ‘स्वतन्त्र’ भएको स्वघोषणा गर्यो
कहिले श्रीपेच उठायो
कहिले लौरो उठायो
कहिले बन्दुक उठायो
कहिले शंख फुक्यो
कहिले घण्टी बजायो
फेर्यो पार्टीहरू अनेक
बोक्यो झण्डाहरू अनेक
भारी बोक्यो अनेक नाराको
सपना, अभिलाषा र महत्त्वाकांक्षाको
तर,
खोजेन कहिल्यै आफ्नो विचार
चलाएन कहिल्यै युग बदल्ने कलम
लगाएन कहिल्यै देशको घाउमा मलम
नहेरेर ऐनामा अनुहार
सोधिहिंड्छ आफ्नो परिचय
नचिनेर आफ्ना चाहना
बोकिहिंड्छ भिराएको पहिचान
सायद स्वत्त्व गुमेपछि जीवन पनि निष्प्राण हुन्छ होला
सायद ठगिँदा ठगिँदै ठगिनु नै दैनिकी बन्छ होला
दबिँदा दबिँदै दबिनु पनि बानी बन्दोरहेछ
झुक्दा झुक्दै झुक्नु नै परिचय बन्दोरहेछ
गणतन्त्रले हटाएपछि शिरको भारी
अब ऊ हलुङ्गो भएको छ
यो भारविहीन जिन्दगी
अपुरो अपुरो भएको छ
रित्तो रित्तो भएपछि जिन्दगी
उसलाई निष्प्राण श्रीपेच चाहिएको छ
आफ्नो नागरिक अनुहार नचिनेपछि
उसलाई ‘पुनः रैती हुनुपरेको छ ।’
बुटवल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।