धरोधर्म रामोराम
विद्या कस्सम
तामा र तुलसी
भाकेर भन्छु
मलाई पनि राजतन्त्र
ल्याउने साह्रै मन छ
खासमा अरु कोही हैन
म आफैँ हुन मन छ

अघि पछि दायाँ बायाँ
लावालस्कर होऊन्
हेप्ने मेरा साथीहरूले
मेरो दर्शन भेट गर्नु परोस्
म ठिङ्ग ठाडो माथि हुँ
तिनीहरूको ढाड र शिर
कप्रक्क कुप्रेर तल झारोस्
म घरबाहिर निस्कँदा
सर्खारको सवारी बनोस्
सबैले नित्य जय जयकार
प्राण भन्दा प्यारो भनोस्
मेरा नातागोता आसेपासे
छोटे भुरे टाकुरे टोले
राजा रजौटा काजी बनोस्

मेरो वरद् बहुली
तेरा हात पाखुरा
म ज्युनार भुजा
तेरा भात ढिंडो
मेरा युवराज युवराज्ञी
तेरा छाउरा छाउरी
मेरो महल दरबार
तेरा छाप्रो बुकुरो
म विष्णु अवतार
तँ रैति प्रजा बबुरो

हे पशुपतिनाथ
राजतन्त्र फर्किनै पर्छ
त्यो राजा अरु हैन
श्री ५ महाराजधिराज
प्रल्हाद वीरविक्रम
ढकालदेव नै हुनुपर्छ
खै अरु केही विकल्प
देख्दै देख्दिनँ हो म त
राष्ट्रियता धर्म र सिमाना
बचाउने र जोगाउने
सबै नेपालीलाई जुटाउने
विकासको मूल फुटाउने

हे देवी दुर्गे
हे राजा ईन्द्र
हे ज्ञान सागर
हे आदित्यनाथ
हे नमो नारायण
यो हिन्दु राष्ट्रमा
हिन्दु नरेशकै
शासन सत्ता होस
त्यो श्री ५ सर्खार
यही बाउन नै बनोस् ।