गोजी रित्तै छ

तन अनि मन रित्तै छ

भद्रगोल चल्दैछ जिन्दगी

माया बोक्ने मुटु रित्तै छ

घर रित्तै छ

गोठ रित्तै छ

विदेशिए सन्तान जति

ममताको काख रित्तै छ !

 

छिमेक रित्तै छ

गाउँ  रित्तै छ

गफको उद्योग फस्टाएरै होला

उर्वर खेत अनि बारी रित्तै छ

निधार नखुम्चाऊ प्रिय मित्र

मेरो पनि आशाको अञ्जुली रित्तै छ

कोकोहोलोको कर्कश आवाज

सिन्दुर पोछिएको सिउँदो रित्तै छ !

 

जोश रित्तै छ

उमंग रित्तै छ

वीरताको विरासत बोक्ने

भक्ति थापाको स्थान रित्तै छ

अमर, बलभद्र, भीमसेन रोए कि ?

सपूत जन्माउने कोख रित्तै छ

रत्नाकरहरूकै हालीमुहाली चल्छ

साधु सन्तको कुटी रित्तै छ !

 

उद्यान रित्तै छ

बगैंचा रित्तै छ

मुर्छित छन् बैशालु चाहना

खुशी हराएको अनुहार रित्तै छ

कठोरताले कुन्ठित प्रदेशी

जवान स्वास्नीको यौवन रित्तै छ

भोकमरीले उपद्रो मच्चाउँदा

चामल पिठोको भकारी रित्तै छ !

 

पाटन रित्तै छ

चउर रित्तै छ

स्वार्थमै चल्छन् सम्बन्धहरू

सम्बन्धहरूको मिठास रित्तै छ

आऊ न आऊ समीप तिमी आऊ

आत्मियताको अङ्गालो रित्तै छ

सिद्धान्त मात्रैले कहाँ चल्छ संसार ?

तिम्रो बोलीको व्यवहार रित्तै छ !