“पूरा नहुने सपना
के देख्नु !
के बोक्नु !”

गलेर खुइय गरेर अनुभवी थकित बाउ भन्दैछन्-

“छोरीले धेरै सपना देखेकी छ
सपना बोकेकी छ
सपना त मैले पनि देखेको थिएँ
बोकेको थिएँ
सपना त मेरो बाउले पनि देखेका थिए
बोकेका थिए
सपना त मेरा अजाले पनि देखेका थिए
बोकेका थिए
तर खै पूर्ण नै कहाँ भए त
देखिए पनि सपनाहरू !
दस नङग्री नखियाएसम्म भरिएन पेट डम्म

देखिएका सबै मेटिए
पसिनाले सपनाहरू !

डम्म नअघाउँदा त सपना पनि कहाँ देख्न सकिँदो रैछ र !
खाली पेटको दुखाइमा निद्रा नै नलागेपछि
पाहुना भएर नआउँदो रहेछ सपना पनि

सुनौलो सपना देखेर
सोही अनुरूप जीवन धान्ने
मोह पालेर के फाइदा !
भाग्यमा सपनाको महल लेखिएन
जीवनमा सपनाको असर देखिएन
आधा रातमा नै समस्याले ऐँठन पारेर
बिहान कहिल्यै रमाइलो भएन
विपना कहिल्यै घमाइलो भएन
विपनाले
दलेर
दलेर
दलेर
अधमरो बनाएको बेला
सपनाले पनि साथ छोड्नु भनेको
अभागी खप्परमा भाग्यको घामै नलाग्नु रैछ
तर छोरीले सपना देखेकी छ
सपना बोकेकी छ
म जिउँदो मुर्दासरह भएको
अभागी वर्तमानमा
जहाँ किलकिलेमा नै झुण्डिएर
आत्महत्या गर्छन् इच्छाहरूले दिनहुँ
अपूर्णताको कालो मखुण्डो लगाएर

सपना नदेख छोरी !
बरु विपनामा जागेर कमाउनपट्टि लाग
रुपियाँबिना नि तिम्रो सपना साकार हुँदैन छोरी !
मान्छे नि
अचेल रुपियाँमा मात्र
जिउन सक्छ
बाँच्न सक्छ
हाँस्न सक्छ
नाच्न सक्छ

भक्कु सपना देखेर त्यसको अपूर्णतामा हताश हुनुभन्दा
बरु सपना नदेख छोरी !
सपना नबोक छोरी !
सपनाले पेट भरिन्न
दु:ख मात्रै दिन्छ
आफूसित भएको अलिअलि पनि
त्यसले आफूतिरै तान्छ
सपना नदेख छोरी !
सपना नबोक छोरी !

चुपचाप बसेकी छोरी एक्कासि बोली-
अरे बाउ ! तिमी त जिउँदै मरिसकेछौ नैराश्यले ठुँगेर
सपना नदेख्नु/ सपना नबोक्नु/ सपना नपाल्नु भनेको नि
जिउँदै मुर्दाजस्तो हुनु हो
सपना बोकेर हिँडिएन भने
जिन्दगीलाई निराशाको पहाडले थिच्छ
रहरहरूलाई ताराजड़ित आकाशले पनि थिच्छ
मनलाई एकछिन भए पनि अलिकति सञ्चो पारिदिने
मल्हम भनेकै सपना त हो
किलकिलेमा नै झुण्डिएर
दिनहुँ आत्महत्या गरिरहने इच्छाहरूको शहरमा

एकछिन भए पनि
रमाउनु त सपनामा नै पाउँछु म

तर बाउ, अभावको अजिङ्गरले निले पनि
म तिमीजस्तो निराश हुँदिनँ
अपुगको सर्पले डसे पनि
म तिमीजस्तो त्रसित हुँदिनँ

अपूर्णताको कालो मखुण्डो लगाएर
घरीघरी ढलोस् न
घरीघरी मरोस् न
म त सपना देख्छु देख्छु
म त सपना बोक्छु बोक्छु
म त सपना पाल्छु पाल्छु
सपनाबिना पनि महत्त्वाकाङ्क्षाको नीलो आकाश देखिन्छ र ?
त्यसैले
म सपना देख्छु
म सपना बोक्छु
म सपना पाल्छु
तिमीजस्तो
थाकेर
पाकेर
फतक्क हुनु चाहन्नँ सपनाबिना
सपना देख्छु र नै हिँड्दै छु
सपना पाल्छु र नै जिउँदै छु
सपना हराएको दिन नि
तिम्री छोरी पनि अवसादको जङ्गलमा हराउने छ

र, बाउ !
मलाई सपना देख्न देऊ
मलाई सपना बोक्न देऊ
मलाई सपना पाल्न देऊ।
**********

डाउहिल,खरसाङ,भारत ।