एउटा नागबेली घोरेकोले प्याट्रिकलाई
घन्टौँको असिन पसिन यात्रापछि
त्यो पहाडको टुप्पोमा पुर्याउँथ्यो
जहाँ हरियो जंगलको बीचमा
नीलो पोखरीभित्र कलिलो सूर्यले
सेतै फुलेका हिम शृंखलामा जन्म लिन्थ्यो

प्याट्रिकका धमिला आँखाभित्र अझै
त्यो विशाल पहाडका रङ्गीन दृष्यहरू
होली खेलिरहेका छन्
त्यति बेला त्यो पहाड
जवान थियो – हरियो, भरिलो, झरिलो
रुखहरू सुसाउँदा पहाड रसाउँथ्यो
रसाएको पानीले बनाएको
झर झर झरनाको धुनमा
कोइलीले प्रकृतिको काखमा
पिरती खोज्नेहरूको प्रेम गीत गाउँथ्यो

त्यही गीतको सुरमा प्याट्रिक
सिर्जनाको क्यानभासमा
त्यो अनुपम रहस्यको कथाको
इतिहास रच्ने गर्दथ्यो
तर एक दिन ती रुखहरूको जीवन खोसियो
रुखहरू अपहरित भए

हरिणका बच्चा प्याट्रिकसँग
लुकामारी खेल्ने त्यो घोरेटो बाटोमा
अलकत्रा बिछ्याइयो
मान्छेको स्वार्थका लागि प्रकृतिको स्वतन्त्रता
अपहरित गरियो

पहाडको टुप्पोमा
ठूला ठूला टोपी खस्ने भवन ठड्याइए
प्याट्रिक बुढो भयो
प्याट्रिक केही मिनेटमै पहाडको टुप्पोमा पुग्न सक्ने भयो
तर उसले ती सुन्दर दृश्यहरू देख्न पाउने भएन
किनकि त्यहाँ अहिले पाँच तारे होटल छ
त्यो अमूल्य प्राकृतिक भव्यता
बिक्री भएको छ

प्याट्रिकको कलम रोकिएको छ ।