शान्त तलाउजस्तै मन

बादलजस्तै

घरिघरि बदलिरहन्छ यो मन

बेला बेलामा बतासैले तरंगित भइदिन्छ

कहिले फेरि बादल भई रमाइदिन्छ

 

पंखा फैलाएर

भुरुरुरु उडिरहेका चराहरू

डुबुल्की मारेर जान्छन् तालको पानीमा

जल तरंग बनेर रोमाञ्चक बनाइदिन्छ

केही क्षण ताललाई

तालसँगै मन पनि पुलकित भइदिन्छ

 

बटुवाले डिलमा टेकेको कम्पनले

थर्रर काँपिदिन्छ

तालभित्र थुनिएका जलप्रवाह

हुँडलिन्छ केही बेर तालको पानी फेरि

सानो बालकले ढुंगा टिपेर

फ्याकेजस्तै

उठीदिन्छ लहर जस्तो केही

मनभित्र अनौठो, रोमाञ्चक

 

कति कति बेला

रिसाहा पत्थरहरूको प्रहारले

भूकम्पले जस्तै हल्लाइरहन्छ

तालको पानीलाई

मनको पानीलाई

लहर कहिले सुनामी बन्छन्

सुनामी कहिले लहर भइदिन्छ

 

अचम्मको छ मन पनि

तालको पानी जस्तै

बेला बेलामा

अनायास

तरंगित भइरहन्छ

बादल जस्तै अनेक आकार

रुप लिएर रमाइदिन्छ

 

हावाले पर्दा फर्फराए जस्तै

मन्द मन्द बतासले

सिमलको भुँवालाई उडाएजस्तै

फूलको सुगन्ध पर परसम्म पुयार्एजस्तै

सुस्तरी सुस्तरी

मायाले सुम्सुमाएर

कपाल उडाएजस्तै

फर्फराइरहन्छ तालको पानी

तरंगित भइरहन्छ मन पनि

बदलिरहन्छ यो मन

 

रंगीचंगी पुतलीको हुल समात्न

हातलाई पखेँटा बनाएर

हावालाई गिज्याउँदै

सानी केटी हुरिँदै गए जस्तै

मन चंगा उडिरहन्छ

 

कहिले अतितमा

कहिले वर्तमानमा त

कहिले भविष्यको कल्पनामा

चुर्लुम्म डुबेर

बादलको कान्लैकान्ला चढेर

कतै टाढा

पर क्षितिजसम्म

पुग्छ क्षणमै मन

 

अचम्मको छ, बेलगाम छ मन

कोठाको एउटा कुनामा बसेर

झ्यालबाटै सारा संसार घुम्छ

भिसा फ्रि यो मन

 

कहिले बादल बनेर पहाडसँग जिस्किदिन्छ

कहिले बादलको गाउँमा

चित्रकार बनेर

सानी केटीले कापी चित्र कोरेजस्तै

आकाशमा अनेकौं चित्र बनाइदिन्छ

 

बादलै चढेर सारा संसार

घुमिरहन्छ

जति घुमे पनि

जति डुले पनि नथाक्ने

यही एउटा मन छ

निम्तै चाहिन्न

न त सवारी

न त भिसा

मभित्र थुनिएर कहाँ बस्छ र मन ?

बरालिरहन्छ यो मन

मलाई नै जिस्काएर भागिरहन्छ यो मन ।