शान्तिको प्रेमपत्र !

डा. कृष्णराज डी.सी.

छन्दः पञ्चचामर
गणः ज र ज र ज गुरु
विश्रामः आठ अक्षरमा

सलाम दाजु युद्ध हे ! असह्य दुःखमा परें
छ भोकरोगको व्यथा म मातृभारमै मरें
छ युद्ध दाजु ! हाल के ? कि काटमार गर्दछौ ?
कि शान्तिक्रान्ति-खोलमा विभोर भोर भर्दछौ ?

जली सकिन् धरा सबै पिएर अग्निकुण्ड यो
ढलिन् मुमा जताततै लिएर हार मुण्डको
पुकार भाइबन्धुको सुनेर अस्त्र फ्याँकिद्यौ
विशाल विश्वबीचमा खुलेर प्रेम गाँसिद्यौ ।

म प्रेमपत्र लेख्दथें बगेर रक्तधारले
ढली गए मुनाहरू जलेर युद्धमारले
हिरोसिमा पुग्यौ तिमी चिहानयानमा बसी
खसाल साल साल नै अनन्त युद्धको दसी ।

म प्रेमिका बनें अझैँ परन्तु मार मार्दछौ
मनुष्य बीचमा तिमी लडेर युद्ध हार्दछौ
सडेर लाशमै बसी सुगन्ध बोध गर्दछौ
गडेर लाशमै पसी सुगन्ध खोज गर्दछौ ?

जहाँ जहाँ तिमी गयौ जलेर जीव सिद्धियो मनुष्यको कला सबै गलेर विश्व रित्तियो
म शान्तिकान्ति रश्मिले अनन्त प्यार ! भर्दछु अँगाल साथमा लिई अनन्त प्रेम गर्दछु !

गाह्रो छ द्यौता हुन !

उत्तम भेटुवाल

छन्द:शार्दूलविक्रीडित
गणः म स ज स त त गुरु
विश्रामः छ र बाह्र अक्षरमा

थुन्छन् मन्दिरमा विनाकसुरमा भागेर जान्छन् सरि
हे लक्ष्मी कति कुर्नु बन्द पिँजडा भन्छन् उनै श्रीहरि
सुन्नै पर्दछ कान थुन्नु कसरी जो भक्त आऊन् रुन
मान्छे कीट पतङ्ग बन्न सजिलो गाह्रो छ द्यौता हुन ।

साँढेमा कति चढ्नु छैन शिवको गुड्ने नयाँ साधन
भेटी दान चढून् निजत्व रहने सम्पत्ति हुन्नन् धन
मान्छे चन्द्र पुगे उडेर नभका ती जून तारा छुन
चुत्थो कीट पतङ्ग बन्न सजिलो गाह्रो छ द्यौता हुन ।

के चढ्थे फलफूल शुद्ध मनले नैवेद्य चढ्थे कहाँ
गर्थे दैव प्रसाद भक्षण भने को दान गर्थे त्यहाँ ।
नाना गान बजानमा भजनमा सङ्गीत भर्छौँ धुन
मान्छे कीट पतङ्ग बन्न सजिलो गाह्रो छ द्यौता हुन ।

गर्छन् पाप पखाल्न कल्मष लिई पुग्छन् तिनै मन्दिर
हाम्रा भक्त महान् भनेर प्रभुले दिन्छन् क्षमा आखिर
देख्दैनन् नरले कदापि भगवान् भन्लान् लगायौ गुन
मान्छे कीट पतङ्ग बन्न सजिलो गाह्रो छ द्यौता हुन ।

ठान्छन् मूर्ति रहेछ पुज्य भगवान् साक्षात् मिलोस् दर्शन
भन्ने याचन सुन्छु भक्त गणको होस् चित्त आकर्षण
भ्रस्टाचार गरी लुटे जलहरी पाइन्न देख्नै सुन
भन्छन् शम्भु असाध्य दिक्क मनले गाह्रो छ द्यौता हुन ।

गोर्खा सिंगारौ यता

 

माधव पोखरेल “गोज्याङ्ग्रे”

छन्द :शार्दूलविक्रीडित
गणः म स ज स त त गुरु
विश्रामः छ र बाह्र अक्षरमा

गोर्खाली जन हौ र एक मुटुमा बस्दै गरेका यहाँ
भाषा भेष छ एक छत्र सबको नाँच्दै रमेका जहाँ
सीमा मात्र छ दूर आज मनमा नेपाल खोज्दै उता
हाम्रो स्वार्थ छ देशभित्र पहिले गोर्खा सिंगारौ यता ।

अर्को देश कतै धरा वरिपरी खोज्दै गरेका तिमी
आफ्नो स्वार्थ यहीँ सधैँ लडिबुडी गर्दै बसेको जिमी
मान्नूँ पर्दछ यो धरा पनि उही नेपालकै वंशमा
एकैथ्यो पहिले र हाल फरक भो नेपालको अंशमा ।

आफ्नै हुन् जन दाजुभाइ सब यी यो भेष भाषा उही
आफ्नै पौरखमा रमेर रहने रातो छ रक्तै उही
सीमाको अब छेकबार नहुने हामी मिले देशमा
नेपाली मनको निस्वार्थ गरिमा झल्किन्छ यो देशमा ।

आफ्नो साँध बनाउने लहडमा लड्दै गरेका कति
पुर्खाको इतिहास भित्र जहिले युद्धै जितेका अति
गोर्खाल्याण्ड बनाउँने रगत हो यो फौज थाक्दैन हो
लाग्नूँ पर्दछ त्यागले मिलिजुली लड्दै लिने देश हो ।

आफ्नो यो अधिकारको बहसमा पर्दै नपर्नूँ पछि
कैयौँ वीर सहीद भै मुलुकमा सन्तान भोकै अति
जिम्मेवार भएर युद्ध रणमा जित्छौँ तिमी गर्वले
आफ्नो यो पहिचान खोज्न रणमा लाग्नू सदा कष्टले ।

हाम्रो साथ रहन्छ युद्धभरि नै नाता र माया बढी
हामी न्याय लिएर भूमि बिचमा बस्छौँ समाई कडी
गोर्खाली जन हौँ र छैन डर त्यो बैरी भगाई यहाँ
गर्छौ शासन भोलि हेर सबले प्रज्ञान एकै जहाँ ।