
विष्णु गुप्त अगाडि
चाणक्य युगको आसपाससम्म
देवता थिए
भगवान् थिए
उत्सव हुन्थ्यो
त्योहार मानिन्थ्यो
देश वा लोक थिए
हामीजस्तै मान्छे थिए
उनीहरूका नाम थिए
तर मानिसको थर थिएन
महाभारत कालमा पनि
लोक थियो
देवता थिए
भगवान् थिए
जातीय व्यवस्थाको भ्रूण थियो
माथि द्रोण, भीष्महरू थिए
तल शुद्र कर्णहरू थिए
उनीहरूका वंश थिए
विभेद कलिला थिए
तर मानिसको थर थिएन
द्वापर कालमा
राजा राम थिए
सत्य सावरी थिइन्
रानी सीता थिइन्
ज्ञानी जनक थिए
निर्माता विश्वकर्मा थिए
वैज्ञानिक अष्टावक्र थिए
तर जातीय व्यवस्था
छुवाछुत र थर केही थिएन
अहिले त्योहार छ
रमझम छ
तिनै आदिम भगवानको आरति हुन्छ
उनै थर विहीन लक्ष्मीको पूजा हुन्छ
जात विहीन वेद ज्ञान पढिन्छ
ज्ञानको उचाइमा
सूर्यको उदय र अन्त्य हुन्छ
रातमा उस्तैगरी जुनेली चम्किन्छ
अँधेरीमा पँधेर्नी आमैलाई
जूनकीरीले उहिल्ये झैँ बाटो देखाई रहन्छ
त्योहारमा बलि राजाको नाममा दान मागिन्छ
तर मानिसको जातसँगै
थरले पुच्छर हल्लाउँदै हाम्रोमा
विभेदको गीत गाउँछ भैलोसँगै
थरले पानी छर्कंदै
समाज चर्काउँछ हाम्रोमा
हुँदै नभएको महाभारतकालीन नाममा
माथिल्लो थर थपिएको छ अहिले
थरले साँघुरो बनायो हामीलाई
नाम मात्र मानव परिचय हुँदाहुँदै
त्योहारमा हिउँदे बाली भित्र्याएपछि
देवता र बलिलाई दान दिन्छौँ
उत्सवलाई उज्यालो बनाउन खोज्छौँ
तर
सब सक्दै छ भातृत्व विभेदले
मानव अब मानवीय रहेन
मानव मानवताबाहेक मात्र बाँकी रह्यो
विभेदको थर पर्याय रह्यो
दुश्मनीको थर पर्याय रह्यो
पूर्वीय सभ्यताको चिहानमा
महाकविको देशमा
थरले सबै निल्यो
संस्कार, सभ्यता र समानता
आदिम युगले दिएको आशीर्वाद
पुच्छरले निल्दै गयो
अबको आन्दोलन ‘नाम’को लागि
बहिस्करण थरको लागि
अबको आन्दोलन केवल मानवताको लागि।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

