ब्रह्माण्डको एउटा कुनोमा
जिन्दगीको नियति बगिरहँदा
समय–समयको अविराम यात्रामा
हिमनदीझैं अविरल बगिरहने
मलाई यायावर हुने मन छ

थाहा छैन कहाँ पुगिन्छ
पृथ्वीको यो कुनाबाट ऊ कुना छिचोल्न
सखारै बिउँझने बित्तिकै हिँडौं हिँडौं लाग्छ
जीवन जिउने एउटा कुम्लो बोकेर
मलाई यायावर हुने मन छ

तिम्रो काखमा असंख्य भावना छ
तिम्रै खोजीमा मन भौंतारिएको छ
तिम्रै आँगनमा साक्षात् हुने
रहर मात्रै रहेन आवश्यक भयो
मलाई यायावर हुने मन छ

भोक जागेको जाग्यै छ
तीरन्दाज गरेको गर्यै छु
सनातनी पहाड छिचोलेर
शिखर चुम्ने आत्मविश्वास बढाउन
मलाई यायावर हुने मन छ

जीवनको विवरणबाट वाक्क–दिक्क
कैफियतै कैफियतको रटान छोडेर
एउटा विश्वास जन्माउने मन छ
वोधिसत्व प्राप्त गर्ने कला खातिर
मलाई यायावर हुने मन छ

युटोपियाली समाजको खोजीमा
निरन्तर निरन्तर हिँड्नु पर्छ
समान आदर्शको रङ कोर्न
अधर्मीको चोला फेर्न पनि
मलाई यायावर हुने मन छ ।