तिमी कहाँ अघि बढ्न खोजेको
तिमी गरिब हौ
तिमी त सधैं गरिब नै रहनु पर्छ
घरको छाना उडाउने गरी जोडले हावा
तिम्रै घरको छाना हुँदै बहनु पर्छ
माथि माथि उड्नलाई तिमीले फिँजाएका
पखेटाबाट
प्वाँखहरू झिकिनु पर्छ
तय गरिएका यात्राहरू बीच बाटोमै तुहिनु पर्छ
तिमी गरिब हौ, तिमी सधैँ गरिब नै रहनु पर्छ
कहाँ टाढा टाढा पुग्न खोजेको तिमीले
तिमी त गरिब हौ
तिमी जहाँ छौ, त्यहीँ नै रहनु पर्छ
जस्तो छौ,त्यस्तै रहनु पर्छ
कहाँ परिवर्तन खोजेको तिमीले
तिमी जन्मजात गरिब हौ
तिमी त सदाबहार गरिब नै रहनु पर्छ
प्राण लिने रोगहरू तिमीलाई नै लाग्नु पर्छ
विपत्ति र संकट तिम्रै घरमा आउनु पर्छ
चढ्न खोज्ने तिम्रा पाइलाहरू
चिप्लिएर झर्नु पर्छ
कहाँ समृद्धिको सपना देखेको तिमी
दुख्ख तिम्रो अटुट साथी हो
सँग सँगै जीवन जिउनु पर्छ
तिमीलाई सरकार छ भन्ने लाग्ला कतै फेरि
आशा भरोसा केही नराख ऊसँग
त्यो तिम्रा लागि हुँदै होइन
त्यो त तिनीहरूको लागि हो
जो सँग शक्ति, सत्ता र सम्बन्ध छ
देशको कानुन भने तिम्रा लागि हो
त्यो तिमीले जान्नु र मान्नु पर्छ
तिमी गरिब हौ
तिमी सधैँ गरिब नै रहनु पर्छ
पहरामा उम्रिएको बोट हेर
कहीँ ठूलो भएको देखेको छौं ?
त्यो त केबल जीवन धानिरहेको हुन्छ
तर अन्तिमसम्म पनि हार खाँदैन ऊ
चपेटाको बीचमा आफ्नो शक्ति लगाइरहन्छ
चट्टान फोडेर माथि उठ्न खोजी रहन्छ
हार खाँदैन ऊ
अन्तिमसम्म पनि लडिरहेको हुन्छ
तर तिमी गरिब हौ
तिमी सधैँ गरिब नै रहनु पर्छ।
झिम्रुक २, प्यूठान।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 





