पृथ्वीलाई परीजस्तै
सिँगारिदिने
म फूल
पहरा फुटाई उम्रन्छु
सागर छिचोली
विरचण गर्छु
मरूभूमिमाथि लत्रिन्छु
हिउँमा पनि फक्रिन्छु
माटो भेटे बोट बन्छु
बालुवा भेटे छोटो बन्छु
पहरा भेटे लहरिन्छु
रुख भेटे बेरिन्छु
हिलो भेटे तैरिन्छु
एकै ठाउँमा पनि बसिदिन्छु
हावाको बुई चढी
संसारभरि खसिदिन्छु
परागबाटै बिज भइदिन्छु
मेरा लागि
कतै बिरानो छैन
जहाँ पुग्छु
त्यहीँ उम्रन्छु
र फुल्छु
हुन त
म नचुँडिएको पनि होइन
चुँडिनु
च्यात्तिनु
लछारिनु नियतिहरू हुन्
त्यसका पछाडि
मलाई पर्नु छैन
मलाई त जहाँ
र जस्तो
परिस्थिति आउँछ
त्यसैसँग जुध्नु छ
त्यही बिरुवा बनेर उम्रनु छ
कल्कलाउँदो भएर बढ्नु छ
जवान भएर मुस्कुराउनु छ
ढकमक्क भएर फुल्नु छ
किनकि
पराग फ्याँक्नु
मेरो धर्म
र मेरो जन्मसिद्ध
क्षमता हो
त्यसैले त
म फूल हो !

हो
म फूल
दुनियाँलाई आहा भन्ने बनिदिन्छु
ईश्वरको माथमा चढिदिन्छु
कतै
गलाका माला बन्छु
कतै
घाटमा तला बन्छु
जे जसरी पनि
सबैको नजर
ममाथि नै खिच्छु
टप टप टिप
वा हाँगा भाँच
च्यात
वा पत्र्याऊ
मलाई कुनै फिक्री छैन
म सृष्टिको
सुन्दर सिर्जना हुँ
मेरो सुन्दरता
फुल्नुमा नै अभीष्ट छ

मौरीका हुल आए
पराग चुसे गए
पानीको धारा छुट्यो
पात झार्यो गयो
कीराले बोक्रा टोके
अघाए गए
हुरीले हल्लायो
अनि आफैँ थन्कियो
शिशिरले चुट्यो
स्वत: मुन्टियो
पैरोले
खसाएर तल पुर्यायो
तर
म जहाँ
जसरी पनि
फूल बिरूवा बनेर
उम्रिन छाडिनँ
म बिस्तारै बोट बनेँ
असङ्ख्य झ्याङ्गिएँ
पुन: उस्तै मुस्कुराएँ
कारण
म हार्नका निम्ति होइन
जित्न
जाग्न
र जगाउनका निम्ति
यो सुन्दर संसारमा
अवतरित
भएको फूल हुँ

म च्याते पनि बास्नाआउँछु
चिमोटे पनि बास्ना आउँछु
निमोठे पनि बास्ना आउँछु
माडे पनि बास्ना आउँछु
जे जे गरे पनि
म बास्नाउन छाड्दिनँ
त्यसैले निसङ्कोच भन्छु
म फूल हो

सबै खाले
नजरलाई खिचेर
परिस्थितिसँग जुध्दै
फड्को मार्दै
अनेकौँ
रङ्गमा रस भरेर
जता हेर्यो त्यतै
मैले फुल्न पर्छ
झुल्नु पर्छ
लहलहाउनु पर्छ
मैले कहिल्यै
फुल्न छाड्नु हुँदैन
निःसन्देह
मैले आफैँलाई चिन्नु पर्छ
आफूले आफैँलाई
नचिने कसले चिन्छ ?

प्रकृतिमा
म फूल हुँको
अस्तित्व जोगाउन
म पाउलिनु पर्छ
म विनाश हुनु हुँदैन
सधैँ
सबैको
आकर्षण बन्नु पर्छ
किनकि
म फूल हुँ !

आहा !
यो धर्ती सिँगार्न
यसमा रङ भर्न
सुन्दरता छर्न
प्रतिपादित
सानो बिरुवा
म, फूल !

 

गोरखा, नेपाल
हालः अमेरिका