सरकार रेमिट्यान्सले विदेश डुल्छ
र भन्छ !
युवा देश फर्क
देशमा
रोजगारी छैन
व्यापार छैन
कृषि छैन
छ त
मात्र देश

डाँडा पारिका घाम जस्ता बा-आमा

उदाउँदा घाम जस्ता छोराछोरी छोडेर
मुटु निचोरेर- आँसु निल्दै
खाडी छिरेको युवाको मुहार पढ्न सक्दैन
मेरो देशको मुखिया
र भन्छ
युवा देश फर्क

देशले खाना, नाना र छाना दिन नसकेर
नागरीकता र पासपोर्ट दिएपछि देश छोडेकाले
पठाएको रेमिट्यान्स लुटेर आफ्ना छोराछोरी युरोप र अमेरिका पठाउँछ
र भन्छ
युवा देश फर्क

शिक्षा, स्वास्थ्य, सुरक्षा
ध्वस्त पारेर
देशमा भएकालाई सडकमा निकाल्छ
र भन्छ
युवा देश फर्क

देश आफ्नो पेवा सम्झिएर
आफ्ना सन्तान राजकुमार राजकुमारी
बनाउँछ
र भन्छ
युवा देश फर्क

सरकार
अब तिम्रा सत्ता लिप्साले आजित भएर
साँच्चै युवा देश फर्किए र देशमा भएका सडकमा आए भने
जुत्ता खियाउँदै
छिमेकी खुसी बनाउँदै गर्दा
बनाउनु भविष्यमा लुक्ने ओडार
अनि भन्नु !
युवा देश फर्क।

 

हेटौंडा