मनभरि काँडाघारी उमारेर
म यतिखेर
सयपत्री र मखमली
बोटहरूमा भाइ तिहारको
खुशी खोज्दैछु
आँखाभरि अतितका ती दृष्यहरू
सम्झना बनेर छाउँछन्
र, शीत बनी बग्दछन्
अनि
नियाल्छु माइतीका तस्वीरहरू
कता कता त्यसभित्र म मेरा
पुराना धुमिल संसारमा
बहकिन पुग्छु संस्मरणसँगै
अब त इतिहास नै बनिसकेछ
भाइटीकाको बहानामा
ईन्द्रेणी रङसँग नखेलेको
आफ्ना दाजुभाइको निम्ति
दीर्घायुको प्रार्थना गर्दै
त्यही साइतमा हात नजोडेको
हो यस पटक
मन विह्वल बनेको छ सधैंभन्दा
मेरा माइतीहरूका सम्झनामा
आँखा मुर्झाएका छन्
ओइलिएका पत्करहरूजस्तै

सयपत्री र मखमलीसँग नै
निरश बनेर सोधिरहेछु-
अब यी हातहरूले कस्का गलामा
तिमीलाई सजाउने ?
शायद
नियति नै भन्नु पर्ला
सधैं रित्तो बनेर तिहारलाई
बिदा गर्नुपर्ने
अनि बाध्यता नै भन्नु पर्ला
केवल सम्झनामा भाइटीकालाई
सुम्सुम्याउनु पर्ने
तरै पनि मेरो प्रार्थना
मेरा माइती जहाँ हुन्, जहाँ रहून्
सुख, समृद्धि र सुस्वास्थ्यको साथमा रहून्

असंख्य बिछोडिएका चेलीहरूको
प्रतीकात्मक चेली बनेर
भाइटीकाको शुभकामना
पठाउँदैछु
ती टाढा टाढा रहेका माइतीलाई
ज-जस्का निधारहरू पनि
यतिखेर शून्यताको शिविरमा
एक्लिरहेका छन् ।