छहारी हुन्थ्यो रुखको र त्यसको मुनि हुन्थ्यौं हामी
आज बुढो रुख ढलेको छ

मुटुमा राखेर अगरबत्ती, गरेका छौं पूजा
आज छैन् अर्थ पूजाको र ढोंगको
र पनि जतिखेर हेरेनौँ, देखेनौँ र पुजेनौँ
तर अहिले श्रद्धा र औपचारिकताको रीति निभाउन पछि हट्दैनौँ हामी
हामी पुस्ता…
रोगमा, भोकमा र कपासमा थेगो मिलाउन सकेनौं
वचनको सानो शब्द घाँटीमा अडकिन्छ
ओकलेर मिठास बन्दैन त्यो
रेखदेख र विचारको सोपान चढ्न
स्वार्थसम्मुख मितेरी गाँसेका छौँ
जीवनको संघर्षमा हामीलाई मुटुको तुलभन्दा माथि राख्नुभो
आफू, नखाएर, नलगाएर सिकाएका जीवन शिक्षा
अब भोका भए, च्यातिएर नाङ्गा र पुराना भए
अहिले हजूरको निर्वाणको बेला कसुर होइँदैनौं
कर्तव्यको
हेर्ने बेला, देख्ने बेला, सोध्ने बेला ईश्वरको पूजा नजान्ने भयौं
आँशु पुछेनौँ त्यतिखेर
अहिले आँशु झार्नुको ढोंग गरिरहेका छौँ

त्यतिखेर त्यो रुखको छहारी थियो
अहिले, त्यो रूख ढलेको छ
अहिले आँशु…
शून्यता पछिको महाशून्यमा पछुतो
सम्झना मात्रै रहेको छ
अब घामले पोल्दा, पानीले भिजाउँदा, ओत लाग्ने
बुढो रुखको छहारी हुनेछैन
थाहा छ, तर हामी त्यसको परिधिभित्र हुत्तिएर
केन्द्रमा जान चाहेका छैनौँ

वृद्ध आमा बिरामी पर्नु भएको बेला
बुबा भोकै, नांगै रोगी हुनुभएको घडीमा
देश नै विदेश गएको बेला
विदेशमा थियौँ
निद्रामा थियौँ
बेहोसीमा थियौँ, स्वार्थमा थियौँ
प्रेममा थियौँ
फगत संसारको र सांसारिक औपचारिकता निभाउँदै थियौँ

हो, त्यतिखेर
उहाँहरूको आँशुले चोलो भिजेको थियो
पेटका आन्द्रा भोकले बटारिएका थिए
आँखा धमिला भएका थिए
कानले ढोका बन्द गरेको थियो
बृद्ध जीवनले सहारा खोज्थ्यो
दृश्य र टेकासोको
विदेसिएका सन्तानको

गोडाले शरीरको भार थेग्न नसक्ने बेला
रोग,भोक, दोषको दुःखले गाँजेको बेला
मृत्युको बाटो रुँगेर बसिरहनु भएको थियो

सन्तानहरूको व्यवहारले लत्याई फ्याँक्थे घरदेखि बाहिर
वचन र बेवास्ताले मृत्युसरह दाँज्न सकिन्थ्यो जीवन
हो, त्यतिखेर
जन्मिएकोको पनि व्यर्थ सम्झनु हुन्थ्यो आफूलाई
तर सन्तानहरू…
तर सन्तानहरू मोजमा थिए, भोजमा थिए
पार्टीमा थिए, मातका, निशाका सवारमा थिए
विदेशमा थिए
वृद्ध अवस्थामा पैसा चाहिँदैन, राम्रो चाहिँदैन र मिठो को पनि चाहना हुँदैन
अन्तिम सासमा, बस्, हात चाहिन्छ सन्तानको

अहिले बुढो रूख ढलेको छ
छहारी छैन ओतको
ईश्वरको पूजा गर्छौ ढुङ्गामा
अहिले ईशको निर्वाण भएको छ
रूख ढलेको छ
मन्दिरको पर्दा च्यात्तिएको छ
घरभित्रका भगवान् टाढा भएका छन् हामीदेखि
जीवन दिने भगवान् होइन र…?
दुःखमा डुबेर, हामीलाई बचाउने
मुटुभन्दा प्यारो सम्झिएर बाटो देखाउने
आफू नखाएर, नलगाएर, फूल फुलाउनेलाई
भगवान् नभने
नदेखिनेलाई भगवान् कसरी भन्नु र ?

आज ईश्वरको मृत्यु भएको छ
त्यसको मुनि छहारी लिन्थौँ हामी
आज बूढो रूख ढलेको छ

म यतिखेर भाडामा मलामी किनिरहेको छु
देखाउनलाई भए पनि
भए पनि ढोंगको कर्तव्य पूरा गरिरहेको छु
मृत्युपछि मुखमा भस्म कलाको सुरुवात गरेको छु

तर अहिले छहारी छैन घरको
धुरीको, ईशको अनि प्रेमको
अहिले रूख ढलेको छ
छैन छायाँ रुखको
छैन् माया बाबा र आमाको
कहाँ जानु भयो होला?
कहाँ… हराउनुभयो…
कहिलै अब नभेटिने गरेर…
नफर्किने गरेर…

हजूर नहुनुको शून्यतामा मात्रै थाहा भयो
आफू नखाएर हामीलाई खुवाएको
आफू नलगाएर हामीलाई लगाएको
लुगाफाटाहरु..!

अहिले च्यात्तिएर साँघुरा र पुराना भएका छन्
बल्ल मात्र थाहा भयो
असफल जिन्दगीमा रुँदै… रुँदै
हामीलाई फुल्याएको
अँह दुख्दैन अझ पनि
हजूरको हत्केला र कुर्कुच्चा फाटेर
रगत बग्दा पनि
अहँ, हामी देख्दैनौँ आँखा धमिलो भए पनि
चस्मा लगाए पनि
छैन थाहा हामीलाई
कानले ढोका बन्द गरेको
हजूरको आवाज, शब्द र त्यसको उभार
हामी कहलिन्छौँ सन्तानको नाममा

थाहा छ त्यतिखेर मलाई
मजदूरीमा धान काटेर छिमेकीको चप्पलजस्तै जुत्ता किनिदिनु भएको

हामीहरूलाई
वर्षको एक पटक जाडोमा लुगाफाटो किन्दा
हजुरको च्यात्तिएको बुकसर्टको
ती दुई प्वालबाट
काँधका नितम्बहरू हालिमुहाली गर्दै बाहिर चिहाउँथे

तर अहिले भाडामा मलामी बोकेर भगवानको
दौडिरहेको छु कर्तव्य पूरा गर्न
ढोंगको नाममा
ईश्वरको नाममा
समाजको नाममा

अहिले नाममा मात्र अनुभूति जीवनको बोकेर
स्वयं किरायामा मलामी भएको छु
जीवन भर काम लागिनँ म
तर अहिले म बा-आमा मरेपछि छोरो बनेको छु

अहिले…
अहिले छहारी छैन बाबा र आमाको
रूख ढलेको छ, छायाँ र ओतको
अनि मृत्यु भएको छ भगवानको
जहाँ.. वास्तवमै वास्ता छैन
ईश्वरजस्तै आमा बुबाको

भोकै खाना खाँदै नखाई
आत्महत्या गर्नुभयो
अर्थमा सिधै अनिकाल थियो त्यो
रोग, भोग निम्त्याई आफूमा गरिबी थियो त्यो
छाडेर गयौँ हामीले
हो, त्यही घडीमा लाग्थ्यो उहाँलाई
म किन जन्मिएको…? जन्मिँदै नजन्मिए नि हुन्थ्यो !
बेस हुन्थ्यो नजन्मिए म
बलिद्र धारा आँशुका र शब्द थिए यी
वास्तवमा…
पुरै संसारका हरेक-हरेक जीवनले
आफू र आफू जन्मिएको अर्थमा दुःखी हुँदैनन्

हो, त्यति खेर सामीप्य थिएन सन्तानको
त्यतिखेर हेरेनौँ हामीले
तर अहिले
बुढो रूख ढलेको छ
छैन छहारी त्यसको र आशको
अनि – अनि ओत र सासको
विश्वास र आशीर्वाद भगवानको

यतिखेर कर्तव्य गरिरहेका छौँ
क्रिया र ढोंगको
देखावटी माया र भागको

बुइँ चढेर घोडा दौडमा हुन्थ्यौं बाबाको
लुटिपुटी हुन्थ्यौं काखमा आमाको
लक्का जवान भएपछि
प्यारो लाग्न छाड्यो घोडा बाबाको
काख आमाको
संस्कार जो सिकाउनु भो
समातेर लौरी त्यसको
जानेनौँ हिँड्न विचारको

ओरालिँदै. ..ओर्लिँदै…सागर छेउ
उक्लिने चेष्टामा पुग्न माथ सगरको
जब पछारिने छौं, तब हजुरहरू हुनुहुने छैन

आज ढलेको छ रूख त्यसको
अब छैन छहारी रुखको
सन्तानहरू शत्रु भए
ओतमा, संस्कारमा, मायामा
न्यानो सिरक डढेको छ
आज ईश ढलेको छ जीवनको
सहारा भत्केको छ विश्वासको

छहारी हुन्थ्यो रुखको
त्यसको मुनि हुन्थ्यौं हामी
आज रूख ढलेको छ
छैन् ओत भगवानको

अहिले छैन छहारी घरको
छैन आशीर्वाद ईशको

बुढो रूख ढलिसक्यो छैन् ओत त्यसको
छैन छायाँ रुखको
अहिले छैन माया आमाको
छैन छायाँ बाबाको ।

(यो कविता मैले उपचारका निमित्त बर्दियादेखि काठमाडौं टिचिङ हस्पिटलमा गएको बेला हस्पिटलमै बुबा रतनबहादुर शाहीको मृत्यु भएपछि आर्यघाटमा क्रियापुत्री बस्दैगर्दा बुबाको स्मरणमा लेखेको हुँ।)

 

ठाकुरबाबा न पा १
भुरीगाँउ बजार,
बर्दिया, नेपाल