पीडामा छटपटिइरहेका
रोइरहेका
सहाराको आशा गरिरहेका
प्राकृतिक विपत्तिको चपेटामा परेर
आफन्त र आफ्नाहरू गुमाएका
गाँस बास कपास सबै गुमाएर
खाना छाना र नाना सबै गुमाएर
पीडाहरूको पहाड बोकेर
बाँचिरहेकाहरूलाई
जानेहरूको यादमा बाँकी जिन्दगी जिउन
साह्रै गाह्रो छ
भूकम्पले क्षतविक्षत बनाएका बस्तिहरूमा
तँछाडमछाड गर्दै पुगेका छन्
को अघिको प्रतिस्पर्धा चलिरहेछ
राहतको बहाना बोकेर
पुगेको छ रंगीबिरंगी
वाद बोकेको
राजनिति
जो एक पोका नून दिएर
सुन दिएझैँ प्रचार गर्छ
फोटो खिचेर सहयोग गरेको देखाउनु छ
जसलाई भोट चाहिएको छ
आफ्ना सबै गुमाएर बाँचेकाहरूसँग
हिसाब निकाल्नु छ उनीहरूलाई
आफ्ना भोटहरू कति गुमे र
कति बचेका छन् भनेर
कतै राजनीति धेरै पुगेको छ
कतै पीडितका आँखा टट्टाएका छन्
राहतको आशावादी बाटो हेरेर
खाना गुमाएकाहरूले खाना खोजिरहेछन्
नानाविहीन भएकारूले नाना खोजिरहेछन्
बस्ने छाना गुमाएकाहरूले छाना खोजिरहेछन्
आफ्नो परिवारको
अभिभावक गुमाएकाहरू
राना बिनाको मौरी बनेका छन्
नेपाल भित्रको अर्को नेपाल
पश्चिम नेपालको
विकट भूभागमा त्रासै त्रासमा
बाँचिरहेकाहरूसँग
राजनीतिभन्दा
पहिला राहत पुगोस्
सहारा गुमाएकाहरूलाई
सहारा चाहिएको छ
घरसँग ढुकुटी पुरिएर
चारा गुमाएकाहरूलाई
आहारा चाहिएको छ
साहारा, आहारा र छहारा
एकद्वार नीति बनेर पुगोस्
पीडितहरूमाथि
राजनीतिक आस्था र रङका आधारमा
विभेद नहोस्
पीडामाथि राजनीति गर्नेलाई
तिरस्कार गरिनुपर्छ
राहतको सामान वितरणमा
शंका छ पीडितहरूलाई
सरकारले एउटै बाटो बनाओस्
जुन बाटोबाट हिँड्दा कुनै पनि पीडितले
विभेदको महसुस नगरुन्
राज्य त सबैको हो
सबैको हुनुपर्छ
यो दुःखमा
दुःखीहरूमाथि
न्याय होस्
तर
राहतमा राजनीति
नहोस् ।
सुनकोशी ६, सिन्धुली
हालः पोखरा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।