यति भोक लाग्यो मलाई
भोकलाई नै काँचै चपाई दिउँजस्तो
या त भोककै आड मार्न
जीवनभर अनसन बसिदिउँजस्तो !

यस्तो रोग लाग्यो मलाई
मर्म कहाँ छ ?
दर्द कहाँ छ ?
छुट्याउनै नसकेर
आफैँलाई
कतै गोलमाल गरिदिउँजस्तो
या त रोगकै सत्यानाश गर्न
आफैँमाथि प्रहार गरिदिउँजस्तो !

यस्तो शोक प-यो मलाई
चिथोरेर आफ्नो छाती
आफैँ घाइते बनेर
पराइलाई पनि रुवाइदिउँजस्तो
या त सहन नसकेर यावत्
बुद्ध बनी कतै निस्की भागौँजस्तो !

किन खुम्चिन्छस् मरिच ?
आफ्नै रागले !
म पनि खुम्चिएँ आफ्नै मायाले !
भोग, रोग र शोकसँग सम्झौता गर्दै
रामनामी भीरुमाला भिरेर
फेरि जीवन-तान बुन्न थालियो
फेरि आफ्नै अडान कुल्चन थालियो !