तिमीले घर बेचेका हौला
तिमीले जग्गा बेचेका हौला
किनबेचको मामला मलाई थाहा छैन
काठमाडौं बिक्रीमा छैन

बाटो बेचेर फुटपाथ हडप्नेहरू
अस्तव्यस्तमा लामो हात गर्नेहरू
अलिकति तिम्रा सपनामा पानी छर्क
दायाँ फर्क, बायाँ फर्क
स्वार्थले पैताला चाट्नु छैन
काठमाडौं बिक्रीमा छैन
सडक वरिपरि फुलेका फूलहरू
माक्स बिना दौडेका पैतालाहरू
पुर्खाको दीर्घ साधना
मैलो पार्ने अधिकार कसैलाई छैन
काठमाडौं बिक्रीमा छैन
आफैं आहार खोजेर
भोको पेट भर्छ काठमाडौं

आफैं घन्टी बजाउँदै
सबैलाई बिउँझाउँछ काठमाडौं
बासना छर्दै फुलेको
सुगन्धित फूल बनेपछि
गौरवले मुस्काउन भए पनि
बिक्रीमा छैन काठमाडौं

कुकुरहरूलाई पनि कुटिनु परेको छैन
पैतालालाई पनि ठेस लागेको छैन
राँको बालेर निस्कन निहुँ छैन
अब किन विरोध हुन्छ महोदय
काठमाडौं बिक्रीमा छैन ।