मार्क स्ट्रान्ड (अप्रिल ११, १९३४ – नोभेम्बर २९, २०१४) क्यानडामा जन्मिएका अमेरिकी कवि, निबन्धकार र अनुवादक हुन् । स्ट्रान्डका कविताको टोनमा खाडी, खेत, डुङ्गाहरूको नोस्टाल्जिया भेटिन्छ । उनको अतियथार्थवादको प्रयोगमा रोबर्ट ब्लाईसँग तुलना गरिएको छ, यद्यपि उनी आफ्नो कविताहरूको अतियथार्थ तत्त्वहरूलाई मैक्स अर्न्स्ट, जियोर्जियो डे चिरिको, र रेने माग्रिटको कामको प्रशंसाको श्रेय दिन्छन्। स्ट्रान्डले कविताहरूमा सादा र ठोस भाषा प्रयोग गर्छन्, सामान्यतया कविता वा मिटरबिना।

===

मार्क स्ट्रान्ड

मार्क स्ट्रान्ड

१. कुराहरू पूरा राख्दै

मैदानमा
म हुँ अभाव
मैदानको ।
यही हो
अवस्था सधैँको ।
जहाँ पनि म हुन्छु
म हुन्छु जे छ छुटिरहेको ।

जब म हिँड्छु
म टुक्र्याउँछु हावा
र सधैँ
हावा हिँड्छ
भर्न त्यो ठाउँ
जहाँ मेरो शरीर थियो ।

हामी सबैसँग कारणहरू छन्
हिँड्नका लागि ।
म हिँड्छु,
कुराहरूलाई पूरा राख्नका लागि ।

===

अनुवादकः मोहित जोशी

२. कविता खाँदै

मेरो मुखको कुनाहरूबाट मसी बग्छ ।
मेरो जस्तो खुसी कसैको छैन ।
मैले कविता खाने गरेको छु ।

लाइब्रेरियन आफूले देखेको कुरामा विश्वास गर्दिन ।
उसका आँखाहरू उदास छन्
र ऊ आफ्ना हातहरू आफ्नो पोसाकमा राखेर हिँड्छे ।

कविताहरू सकिएका छन् ।
बत्ती मधुरो छ ।
कुकुरहरू भुइँतलाको सिँढीमा छन् र उक्लँदै छन् ।

तिनीहरूका आँखाहरू बटारिन्छन्,
तिनीहरूका सुनकेसरी खुट्टाहरू ब्रशजसरी जल्छन् ।
बिचरी लाइब्रेरियन आफ्ना गोडा बजार्न सुरु गर्छे र रुन्छे ।

ऊ बुझ्दिन ।
जब म घुँडा टेक्छु र उसका हातहरू चाट्न थाल्छु,
ऊ चिच्याउछे ।

म नयाँ मान्छे हुँ ।
म ऊतिर गुर्राउँछु र भुक्छु ।
म प्रफुल्लताले बच्चाजस्तै उफ्रन्छु किताबी अँध्यारोमा ।