प्राप्ति थापा

को चुप लागेर बस्न सक्छ
आफ्नो अस्तित्वमाथि प्रश्न उठे
को मौन रहेर बस्न सक्छ
आफ्नो अखण्डतामाथि औंला उठे ?

सधैँ स्वतन्त्रताको झण्डा फर्फराएका हामी
कसै सामु घुँडा टेक्ने त कुरै भएन
सधैँ शिर उठाएर हिँडेका हामी
कोही सामु झुक्ने त कुरै भएन

भौगोलिकतामा सानो होला हाम्रो मुलुक
तर वीरताका गाथा भने ठूला छन्
सुगौली सन्धिमा कुनै भू-भाग गुम्यो होला हाम्रो
तर उपनिवेश कहिले कसैको नभएको कथा छ हाम्रो

कसैमाथी जाइलाग्ने बानी छैन हाम्रो
तर आइलाग्नेलाई भने छाड्दैनौँ
कसैलाई हेला र हेप्ने चलन छैन हाम्रो
तर कसैको हेपाइ भने सहदैनौँ हामी
कसैको अधीनमा बस्ने अभ्यास छैन हाम्रो
त्यसैले,
देशको गरिमालाई कदापि गिर्न दिन्नौँ हामी

लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो
कसैको लागि छाड्ने छैनौँ
अरुको भूमिमा आँखा गाड्ने बानी नराम्रो
अतिक्रमणकर्तालाई कदापि छाड्ने छैनौँ

मातृभूमिको लागि ज्यान दिन पछि हट्ने छैनौँ
अखण्डता कायम राख्न पाइला पछि सार्ने छैनौँ
नेपाली हौँ
सधैँ नेपाली भएर बाच्नेछौँ
देशका लागि बलिदान दिन हरदम तयार छौँ
नेपाली भएर जन्मेकोमा सधैँ गर्व गर्छौँ