गोजी रित्तै छ
तन अनि मन रित्तै छ
भद्रगोल चल्दैछ जिन्दगी
माया बोक्ने मुटु रित्तै छ
घर रित्तै छ
गोठ रित्तै छ
विदेशिए सन्तान जति
ममताको काख रित्तै छ !

छिमेक रित्तै छ
गाउँ रित्तै छ
गफको उद्योग फस्टाएरै होला
उर्वर खेत अनि बारी रित्तै छ
निधार नखुम्चाऊ प्रिय मित्र
मेरो पनि आशाको अञ्जुली रित्तै छ
कोकोहोलोको कर्कश आवाज
सिंदुर पोछिएको सिउदो रित्तै छ !

जोश रित्तै छ
उमंग रित्तै छ
वीरताको विरासत बोक्ने
भक्ति थापाको स्थान रित्तै छ
अमर, बलभद्र, भीमसेन रोए कि ?
सपूत जन्माउने कोख रित्तै छ
रत्नाकरहरूकै हालीमुहाली चल्छ
साधु सन्तको कुटी रित्तै छ !

उद्यान रित्तै छ
बगैंचा रित्तै छ
मुर्छित छन् वैशालु चाहना
खुशी हराएको अनुहार रित्तै छ
कठोरताले कुन्ठित प्रदेशी
जवान स्वास्नीको योवन रित्तै छ
भोकमरीले उपद्रो मच्चाउँदा
चामल पिठोको भकारी रित्तै छ !

पाटन रित्तै छ
चउर रित्तै छ
स्वार्थमै चल्छन् सम्बन्धहरू
सम्बन्धहरूको मिठास रित्तै छ
आऊ न आऊ समीप तिमी आऊ
आत्मियताको अङ्गालो रित्तै छ
सिद्धान्त मात्रैले कहाँ चल्छ संसार ?
तिम्रो बोलीको व्यवहार रित्तै छ !