यो लोकतन्त्रमा
मुख थुन्नुको अर्थ नबोल भन्नु हो
यसको अर्थ
नागरिकको आवाजले
सिंहदरबारको सत्ता डगमगाउनु हो
कायर राज्य
प्रहरी प्रशासनको आडमा
नागरिकको मुख थुन्नुले
सिंहदरबारमा शासकले खडा गरेको विरासतमा
कम्पन आउनु हो
किनकि नागरिकको आवाजले
हल्लिने कमजोर धरातलको
त्यो सिंहदरबार
लोकतन्त्रको आफ्नो आदर्शबाट च्यूत हुनु हो
हो यतिबेला
राजनीतिक चेतको
आदर्श छाँटने केही ठेकेदारहरूले
सिंहदरबारको भजन गाउँदै
आफ्ना स्वार्थको व्यापार गर्न सक्छन्
यो लोकतन्त्र
सहिदहरूको आदर्श र बलिदानको उपज हो
तर यतिबेला
चाकरीबाज र भजन मण्डलीको
व्यूहचक्रमा मौलिक हक घाइते बनेको क्षण
हाम्रा व्यक्तिगत स्वार्थले
विचारको बारुद बोक्ने हाम्रो कलममा
खिया लाग्यो भने
देशले अर्को तानाशाह जन्माउन सक्छ
ए पटमुर्खहरू हो !
राजनीतिक दल र नेताहरू भन्दा
देश र यसको स्वाभिमान सधैं माथि हुन्छ
त्यसैले बन्द गर भजनको व्यापार गर्न
किनकि मुख थुन्नु भनेको
वाक स्वतन्त्रताको चीर हरण गर्नु हो ।
पोर्चुगल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।