मान्छेका अभावित चाहना
अभाषित उत्कट शान्ति धोका
मन, वचन, कर्मले घोच्नेहरू
शान्तिको सातो खाई उफ्रन्छन्
अस्वाभाविक संवेगहीन शैली फाल्छन्
मतलब साँध्न शक्ति दुष्प्रयोग गर्छन्
अमनचैन क्षय भएको छ
जब पर्छ, तब टर्छ भन्दै
विपत्ति निम्त्याइँदैछ
समयले सामर्थ्य पहिचान गर्छ
विश्व विजयी आफू चिन्दैन
आफू चिन्ने विश्व चिन्दैन
मानवको पहिचान यश कीर्तिमा छ
समस्याले समाधान खोज्छ
आवश्यकता आविष्कारको जननी हो
को कति निर्भीक छ
अशान्तिमा शान्तिले जाँच्छ
आँखिराँ मान्छे न हो
काकाकुल शान्ति खोज्दै
मृतात्मालाई चिर शान्तिको कामना गर्छ
अबुझ मुर्दामा शान्ति खोज्छ
आफू हिसाब किताबले रन्थनिन्छ
शवलाई अशान्तिको के चिन्ता
ऊ चेत्दै चेत्दैन
भरे भुत बनेर नआओस् चिन्ताले
वंशज भयाक्रान्त छन्
शान्ति बिच्क्याउन खोज्नेहरू
अशान्ति निम्त्याउनेहरू
शान्ति शान्ति भन्दै
श्वेत पारावत उडाउँछन्
शान्ति सुन्दर जपना भएको छ
अनन्त आवाज बनेको छ
असीमित चाहना बन्दै छ
मात्राको उपसर्ग ठानिदै छ
अशान्तिको विशालतामा विलीन शान्ति
चाहना राख्दाराख्दै सकिन्छ
घाउमा मलम दल्दै सकिन्छ
विपद् गर्जंदै पाखा लाग्छ
डराई तर्साई अशान्ति थप्छ
नदीबाट बालुवाको कण निस्कदा
अचेतन मनमा चेतना जाग्छ
दुःखाइ कतै न कतै थपिन्छ
झस्काइ चस्काइ भै रहन्छ
कुशासनका निशानहरू भरिन नपाउँदै
विपद्ले आकुलता छाड्छ
पारपाचुके र प्रेमिल जोडी छुट्टिँदा
चित्त दुःखाई लुकाई बस्छन्
बेमेल मनमा ठेलमेल गर्छन्
पछ्याइएका पदचापको बल्झ्याँई
यत्रतत्र सर्वत्र चसक्क बिझेकै छ
समुद्री छालले आकार छोड्छ
माटो दुख्छ भूस्खलन हुन्छ
झरेको फूलमा भमरो तड्पिन्छ
प्रशवपीडा मरणान्त व्यथा सहँदै
सन्तान देख्दा जननी गदगद हुन्छिन्
बिस्माते भूपटलमा हर्ष खोज्दै
मनुष्यको जुनी बित्दै छ
अनेकन् कथा व्यथा जोडेर
शब्दशब्द गुँथ्दै साहित्यकार
अशान्तिको बाँड्दै छ सार ।
महालक्ष्मी ०१, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।