समस्याको बगुन्द्रो

अभावको धमिराले मक्किएको

जिन्दगी बोकेर

नैराश्यले बिर्सन नसकेको झिनो आशा लिएर

पर्खेको आँखाले

पटक पटक पूर्वतिर

क्षितिज ताक्दै-

घस्रिरहेको बस्तीको

अघिल्तिर फैलिएको छ

एउटा भयावह वैतरणी

यसको पल्लो किनार पुग्न

असमर्थ मरनच्याँसे गाउँमा

अचानक एक दिन एउटा बेग्लै

वातावरण सल्बलाउँछ

हतार दगुर्छ

उत्सुकता उफ्रँदै नाँच्छ

सुखा स्तन शिशुलाई चुसाउँदै

कुपोषणले मुर्झाएका मनमायाको आँखा

बाहिरतिर तानिन्छ

चियाको गाछलाई स्याहार्दा-स्याहार्दा

पटपटी फूटेको हातले ढोका उघार्दै

रणबहादुर घरबाहिर झाँक्छ

कसैले पसलमा बिक्ने सुगन्ध छर्कँदै

खै कताबाट ल्याएर

रातारात बलेंसिमा राखिदिएका

प्लास्टिकका फूलका गमलाहरूमा आँखाहरू पर्छन्

लुटिएका रित्तो हातहरू

खै कुन आसले

बिहान सखारै उठ्नासाथ

मगमग सुगन्धको भ्रमले मातेर

उनीहरू जमिन र आसमान बिर्सन्छन्

पार्थक्य भुल्छन्

झपक्क लागेको निंद खुलेपछि हेर्छन्

भोलिपल्ट बिहान

बलेंसी फेरि रित्तो देख्छन्

त्यहाँ न गमला हुन्छन्

न फूल हुन्छन्

फेरि पूर्ववत् एकान्त

फेरि बिरमाइलो

मानौँ यो भर्खरै भाषण सकिएर एकलिएको

गिताङ्गे डाँड़ा हो

हिज साँझ पिँढ़ीमा बास दिएको बटुवा

बिहान चालै नपाई हिँड़िसकेको खालीपन हो

 

खै सपनाहरू कहाँ विस्थापित भए ?

यो बस्ती बेखबर छ

मनको धोको कसरी अपहरणमा पऱ्यो ?

यो बस्ती अनभिज्ञ छ

कसले लुट्यो ?

कसले थुत्यो ?

कोही बुझ्न सक्दैनन्

सत्य युग फर्केको मूल्य घटछ रे भन्ने हल्ला सुनेको कान छाम्दै

ग्यास सकिएको सिलिण्डरको

उपहास र परिहास सहन नसकेर

पसल र चुल्होको बीचको साँघुरो गल्लीमा

टेक्ने ठाउँसम्म नपाएर

एक मुठी स्वासको भीख

आफैँसित माग्दै

फेरि अभाव र मर्का नै

कोखिलामा च्यापेर

यो बस्ती झिनो वैसाखीमा

जिन्दगी घस्रिरहन्छ

फेरि आश्वासनको तातो हावामा

उड़ेका बेलूनहरूका तैंछाड मैंछाडका

रमिता हेर्ने प्रतीक्षामा।