केही थान तस्बिर
सञ्जालमा झुण्ड्याएर
गाउँले होइन
महोदय टुरिष्ट भइन्छ

गाउँले हुन त
गाउँमै रहनुपर्छ
गाउँ रहन शहर छोड्नुपर्छ
गाउँसित बाँच्न
भस्मे खोरियासित
प्रित गाँस्नु पर्छ

फर्क अब युवा हो
गाउँ धमाधम फर्क
शहरिया ऐस आराम
गाउँमै गएर बिर्स
बिर्खेको आरणले
तिम्रै औजार पर्खिरहेछ
दर्जी दाइको मेसिनले
तिम्रै वस्त्रको चियो गरिरहेछ
शिक्षा स्वास्थ्य पुल पुलेसा
तिम्रै खातिर बाँचिरहेछ

फर्क गाउँप्रेमी हो
यो अभावको खाडल रङ्गेर
अब नबस

तिम्रो जवानी पिएर
शहर रङ्गीन बनिरहेछ
यो शहरले हाँस्दा गाउँ रोइदिन्छ
त्यस्तो हाँसो तिमीलाई
पासो बनिदिन्छ
महङ्गीको जाँतोमा अब कति थिचिनु
स्मार्ट पार्क स्क्रिनमै भो
दुनियाँ त्यहीँ रम्छ
त्यो दुनियाँमा तिमी अब फरक देखिनुपर्छ
गाउँमा उज्यालो भएर
गाउँमै केन्द्रित हुनुपर्छ

तिम्रै साल नाल गाडिएको
ठाउँ लुकाएर
सम्झनामा गाउँ भुतुक्क छ
हेरिरहेछ पर्खिरहेछ

तिमी आउने बाटोमा बुकी फुलिरहेछ
समसाँझ हसमहरू
मगमग बास्ना लिएर
स्वागत गर्न तम्तयार छ

निस्क छिटो हिँडिहाल
यो फोहोरी आहालबाट
जिउँदो स्वर्ग सौन्दर्य
गाउँमै पाइन्छ
तिम्रो पौरखले झन्
गाउँ उज्यालो बन्नेछ ।