मकै

यम रेग्मी

छन्दः उपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)
गणः त त ज गुरु गुरु
ज त ज गुरु गुरु
विश्रामः पाँच अक्षरमा

बालीहरूमा म हुँ उच्च राजा
चाहा छ यौटै सकुँ बन्न साझा
छोटो जुनीमा गरुँ के र दम्भ ?
समानताको म हुँ मूल मन्त्र ।

दिँदैछु माया भटमास भाइ
मिच्दैन भिन्डीसित द्धैष ल्याई
फर्सी र बोडी शिर माथि टेक्दा
क्या लाग्छ राम्रो मल फूल देख्दा ।

हँसाइ बन्छो अनि हाँस्छ थाल्छु
बचाइ कोदो पछि बाच्छ थाल्छु
बनेर तप्का अरु पिर्न जान्न
ढलेरै मर्दा पनि मिच्न जान्न ।

पोलेर खाऊ रसिलो छु धेरै
भुटेर खाऊ सजिलो छु धेरै
सकूँ अनेकौ परिकार बन्न
सकू सुधाझैँ जन भोक मेट्न ।

प्रचण्ड गर्मी शिर माथि छाओस्
वर्षेझरीले पदमा गलाओस्
काट्दै जरामा फरुवा चलाऊ
म जान्छु उठ्दै जति नै ढलाऊ ।

गाह्रो छ नेता हुन

जानुका गुरागाईँ

छन्द:शार्दूलविक्रीडित
गणः म स ज स त त गुरु
विश्रामः छ र बाह्र अक्षरमा

इच्छाशक्ति ठुलो लिएर दिलमा जानेहरू जो थिए
बोल्दा सत्य कुरा निकै सदनमा उल्टै तिनै खेदिए
सद्दे चामलमा सदैव ननिका हुन्छन् परेका घुन
छान्नी एक हुँदा सबै कसरको गाह्रो छ नेता हुन।

साथीभाइसँगै सधैँ समरमा अर्पेर यो जीवनी
छर्दै चेतन गाउँगाउँ डुलियो पारौँ उज्यालो भनी
साथी हुन् दुखका भनेर सहजै विश्वास गर्थें जुन
तान्दै छन् अहिले तिनै पयर यी गाह्रो छ नेता हुन ।

आफ्नै झुन्ड लिई बसेर सँगमा काट्ने अरूका कुरा
नौला भाषणले खिचेर मन यो हान्ने कटीमा छुरा
यस्ता दुर्जनका छिनाल्न जुइना चाहिन्छ राम्रो गुण
सोचेझैँ सजिलो कहाँ छ र सखे गाह्रो छ नेता हुन ।

जिम्मेवार थिए कुनै बखतमा आचार राम्रो थियो
गर्थे काम सधैँ कृतघ्न नभई बन्थे सबैको मियो
बन्दै भ्रष्ट हिँडे तिनै मुलुकमा बोकेर भारी सुन
यस्ताका बिचबाट बच्नु कसरी गाह्रो छ नेता हुन ।

हुन्नन् साथ दिने सखी सदनमा राम्रै पुकारे पनि
लाग्छन् आखिर झुन्डका पछि सबै हुन्नन् कुनै मापनी
देख्दा दुर्मतिका सबै सदनमा तातिन्छ आलो खुन
एक्लो बन्छ कठै बृहस्पति यहाँ, गाह्रो छ नेता हुन ।

झापा

उज्यालो

शिबु ढकाल

छन्द: इन्द्रब्रजा
गणः त त ज गुरु गुरु
विश्रामः पाँच अक्षरमा

शिबु ढकाल

आफन्त कोही धनले पुरिन्छ
ऐश्वर्य धौलागिरिझैँ चुलिन्छ
सारा खुसी ऊ निकटै रहन्छ
साँचो खुसीको भुजमै कहन्छ ।

ऊ देख्छ चारैतिर कामयाबी
ऊ भेट्छ चारैतिर रामनामी
हुन्छन् उसैका सँगमा कुबेर
लक्ष्मी रहन्छिन् उसमै अडेर ।

ऊ हुन्छ टाढा अरुबाट धेर
पाउन्न कोही आफनो भनेर
रोएर के गर्नु हुँदैन माया
पायो यहाँ को तमबाट छाँया ।

हो, माथि हेर्छन् तलबाट यात्री
भेट्ने इरादा मनमा सँगाली
यो कामयाबी सबको हुँदैन
यो रामनामी सबमा छुँदैन ।

सन्तापमा हिम्मत हार्न हुन्न
टुट्दा भरोसा मन मार्न हुन्न
छन् जो तिनी आज जहाँ जसोरी
पुग्ने त्यहाँ कर्म करौँ कसोरी ।

हो कर्म आफ्नो असमान दर्जा
को बन्न सक्छन् अरुको सहारा
ल्याएर पानी पहरा रसाई
खोजौँ उज्यालो पसिना बगाई ।

पोखरा