संवेदनाशून्य भएको छ मान्छे
शब्दचित्रमा उतार्न खोज्छु
लेखेर पनि अर्थ आउँदैन रे !
भनेर पनि भनिदैनन् रे भावनाहरू
विनिर्माणका सिद्धान्तले तर्साउँछन्
मलाई अचेल

सपनामा डेरिडा र फुकोले आतंकित बनाउँछन् मलाई
मेरो कविता भत्काउन आउँछन्
विनिर्माणका सिद्धान्तहरू
मेरो कविताका विरुद्ध
रोलाँ वार्थ, ल्योटर्ड र मार्टिन हेडेगरहरू
देखाउँछन् कालो झण्डा र बस्छन् धर्नामा

तर पनि लेखिरहन्छु म कविता
चित्त बुझ्दैन आफैंलाई
भत्किरहेको देख्छु संवादहरू
मरिरहेको देख्छु अर्थहरू

भन्न त चाहन्थेँ नि म पनि
मनका बहहरू फोएर
छरिएका मायाका शिलाहरू
पोखिएका जूनका कथाहरू
जुनेलो फुल्ने मौसममा
जुनेली सपनाहरूसँगै
टिपेर मनका एक एक थुङ्गा फूलहरू
बनाउँ न एउटा माला
बनाउँ न एउटा छुट्टै भाषा
जहाँ कुनै विनिर्माणको सिद्धान्त र वादले
नबोलोस् धावा

स्निग्ध रात
खोलाको मधुर कलकल संगीत
शान्त, कोमल चिसो हावा
पोखिएर जुनेली रातमा हिउँजस्तै
एक जोडी चराको उन्मुक्त उडानबाट
गुँडसम्मको अवतरण
अनि उन्मुक्त आशक्त प्रेमको
मानव संसार र संविधानमाथि
आऊ बनाऊँ न एउटा छुट्टै भाषाशास्त्र – प्रेमको ।

 

बर्दघाट- १०, नवलपरासी
हाल: ओस्लो, नर्वे