कविता राम्रो तयार भयो
कलमले अड्को झिक्यो
यो त मैले लेखेको
मसीले प्रतिवाद गर्यो
तैँले हैन मैले पो लेखेको
कलम र मसीको द्वन्द्व देखेर
कागजले पनि हिस्सा खोज्यो
दुई पक्षीय द्वन्द्व त्रीपक्षीय हुने नै भो
कलम घुमाउने हात किन चुप बस्थ्यो
भन्यो, ए ! मेरो भूमिका नदेख्ने ?
दिमाग झन् के कम
एकपछि अर्कोले आ-आफ्नो भाग खोजे
द्वन्द्व विकराल बन्दै गयो
आँखालगायत मस्तिष्क र प्राणवायुसम्म
सबै सबै जुरमुराए
कविता नचाहेका थोरै थिए
मौका भेट्टाइहाले
धमिलो पानीमा माछा खोज्न लागे
एकअर्कोलाई हावा भर्न लागे
सत्यलाई बोक्ने कोही नहुँदा
प्रिय कविता च्यात्तियो
टुक्रिए कविताका शब्द शब्द
छरपष्ट भए अक्षर‑अक्षर
निराश भए पाठकहरू
टोलाउन थाल्यो कलम
पीडामा पर्यो मसी
हातले पनि पश्चाताप गर्छ
दिमाग भन्छ, मैले त सोच्नु पर्ने
तर के अर्थ अब
एकले अर्कोको अस्तित्व नमान्दा
अर्कोको कर्मको मूल्य नबुझ्दा
मैले मात्र हैन, हामी सबैले भनेको भए
कविता बन्नु पूर्वको
त्यो दुर्लभ एकता तहस नहस भयो
कहिलै नफर्कने गरी हरायो
सबै मेरो मात्र भन्दा
सबैले जितेको खेल
कसैले पनि नजितेपछि
अस्तित्व अरुको नस्वीकार्दा
कविता मात्रको के कुरो
ठुल्ठुला महात्माहरूको हविगत पनि
पश्चाताप सिवाय के रहन्छ ?