खै कस्तो तिम्रो अवधारणा
युद्धको मेला लगाएर
मान्छे- मान्छे मर्न र मार्न लगाएर
मृत्युको खेल खेलाउँदैछ
सुन्दर, कोमल बाँच्ने रहर बोकेका जिन्दगीलाई
जीवन चिन्न नपाएको जीवनहरूलाई
टुक्राटुक्रा पार्दैछ

कस्तो खालको तिम्रो अभिमान
आगो ओकल्दै, मान्छेको जीवन खोस्ने
तिम्रो तानाशाही शासनको छायाँमा
तिम्रो कट्टरपन्थी सोचाइको सिद्धान्तमा
फक्रन नपाउँदै कोपिलामै
झरेको फूलझैं
टुक्रिएर ढल्दै गरेको जीवनको बन्दैछ कथा
पीडामा टुक्रिएर क्षतविक्षत भएको मुटु
थरथर काँपिरहेका रेडक्रसको हातलाई समेत
बन्देज गरेको कस्तो खालको तिम्रो
मानवीयता हराएको कायरता
एउटा कलिलो कलेजोमा
तिम्रो क्रूर सोचमा बनेको बारुदका
बाहिरैबाट छर्लङ्ग देखिने छरेको छर्‍रा
जानजानी खोसेर खाली बनाएको काख
आँशु निख्रेर खडेरी परेको छ, आँखा
युद्धले टुक्राटुक्रा पारेको जिन्दगी…

सहज दिनहरूमा मौलाएको
विकासको एउटा प्रकार
गगनचुम्बी कंक्रिटको जंगल
त्यहीँ जंगलमा फुल्दै गरेको जिउँदो सपनाहरूमा
तिम्रो कुनियतको कालो तुँवालोहरू
बम, बारुदको रुप लिएर
क्षण भरमै भाग्यको आकारहरू बदलिदियौं
भाग्य तोड्नु, जीवन खोस्नुको खेलमा
सपनाहरूलाई काँचका टुक्राजस्तै चकनाचुर पार्यौं
ग्रिनेटको प्रतिध्वनिले मुर्छा पारेको मानव प्रेम
पानीसरि बग्दै गरेको रगतको भल
गिदी छरिएर उछिट्टिएको खाली खप्पर
हराएको मानव माया
अकल्पनीय बर्बरताको बनेको छ, छायाँ
युद्धले टुक्राटुक्रा…

टुटेको बाटोमा चालेको हरेक पाइला
प्रेमिल नतिजाको क्रूर अनुस्मारक
पीडा अनन्त पीडाजस्तै रहन्छ
एउटा डरलाग्दो युद्धले मुटु हल्लाउँछ
सान्त्वनाको आशामा निराशा थप्दै जान्छ
अभिमानको होडबाजीमा
युद्धको आगो निभाउनुको साटो
भिटो पावरको देखासेखी गर्छ
जल, थल, आकाशको सौन्दर्य खोसेर
क्रूर विध्वंश राफल र युद्धपोत डुलाउँदैछौ
युद्धले टुक्राटुक्रा…

बुद्ध अब खण्डहर खरानीको संसारमा घुम्नेछ
जहाँ खुशी, शान्ति र आशा मेटिएको हुनेछ
टुक्रिएर झरेको आत्माको शोकमा
मौन मनहरू आवरण अनशनमा बस्नेछ
तिमीले निम्तो गरेको युद्धले
आकाश रोएर पहाड पग्लेर बग्नेछ
बिनाकसुर रित्तेको छ, काख
आकाश बादलको साटो
मान्छे जल्दै गरेको धुँवाले भर्नेछ

चिहान कुरिरहेको असंख्य लाशहरू
मलामीको पर्खाइमा टोलाएर
जिउँदो मानवता हराएको मान्छेलाई जिस्काउने छ
युद्धले फक्रन लागेको जिन्दगीलाई टुक्राटुक्रा हुँदैछ ।

 

पाँचखाल, काभ्रेपलान्चोक
हाल- लिमासोल, साइप्रस