युद्धको आगोले
डढाएको बस्ती भित्रबाट
घाँटी भिजाउन
म पानी माग्छु
तिमी “बारुद लैजाऊ“
भन्छौ
चारै तर्फको निर्जन
भग्नावशेषमा
भोकले ब्याकुल
हुँदै
एक पिस पाउरोटीको
टुक्राको आसमा
हेरिरहँदा
तिमी बन्दुक दिन्छौ
तोपले ढलेका मेरा घरहरू
खोस्रेर निकालेका
आधा डढेका
कमिज लगाएको
मलाई
गोली राख्ने कमर पेटी
दिन्छौ
दुष्ट युद्धको
सिकार मेरा
मान्छेको
आत्मविहीन
शरीर बोकेर
जमिनभित्र
थन्क्याउँदै गरेको
बखत
बमले सहयोग
गर्छौ
मेरा झोलाभरि
बारुद भरिदिन्छौ
खल्ती भरिने गरी
गोली दिन्छौ
तिमीले तोप दिन्छौ
बख्तरबन्ध गाडी दिन्छौ
पनडुब्बी दिन्छौ
मिसायल दिन्छौ
ट्यांक दिन्छौ
तर घर
तिम्रो हैन
मेरो भत्कन्छ
मान्छे मेरा मर्छ्न्
ढल्छ्न् हाम्रा हस्पिटल
भूमिमा लम्पसार छ्न्
मेरी छोरीका विद्यालयहरू
भाइका कलेजहरू
घाइतेहरूका
अस्थायी बासस्थान
भएका छ्न्
छोराको अनुहार आक्रोश
देख्छु
शान्त र धीर मेरी
हजुर आमाले समेत सराप्न थालेकी छन्
कुहिएर झरुन् बन्दुक चलाउने हातहरू
कीरा परोस् बम बनाउने बुद्धिमा
ठनक्क भाँच्चिएर जाओस् तोप
सोझ्याउने हातहरू
मृतकका विवरण
अटाउन छोडे अखबारहरूमा
पहाड बन्दै छन्
भत्केका भवनहरूको यहाँ
अन्धकार छन् बस्तीहरू
सुख्खा छ्न् कलधाराहरू
अब
तिमी पनि एकपटक
मात्र एकपटक
आफ्नो आँगनमा
लडाइँ गरेर त हेर
आफ्ना मान्छे
जुधाएर त हेर
युद्ध
साँच्चिकै कति भयावह हुन्छ
युद्धले ल्याउने परिणाम
कति वीभत्स हुन्छ !

पोखरा ७ मासबार
कास्की