
सयपत्रीले शृङ्गारिएको गाउँ देखेर
झिलिमिलीले रङ्गिचङ्गिएको सहर देखेर
दिदीसँगै सप्तरङ्गी टीका भिरेर
फोटो खिच्ने रहर मेरो पनि थियो
दिदीको भाइ भेट्ने भाइको दिदी
दुवैको सपना कतै छुट्यो
बाँस झाङमा आगो सल्केदेखि
सारौँ र बकुल्लोको बास छुटे सरी
यसपटक आफूलाई माला र टीका
लाउने कोही नआएपछि
कराइरहेका छन्
वियोगका गीत गाइरहेका छन्
कुकुर अनि गाईहरू
ढोका, झ्याल, भुइँ भित्ता सबैसबै
आफू फुस्रो भएको लागेर
खोजिरहेका छन् घर लिप्ने र पोत्नेहरू
आँगन र बारीभरिका मखमली, सयपत्रीले
खोजिरहेका छन् आफ्नो माली
आफूलाई खोज्न किन आएन भनी
दुख त सासको अर्को रूप रहेछ गरिबको
हिजो पनि थियो आज पनि छ
त्यै पनि चाडपर्वमा बढी दुखाउँदो रहेछ
दिदीको आशामा खुत्रुके फुटाएर
बसेको भाइ रोइरहेको छ
दिदीको पाउमा नपरेको मुहार
सप्तरङ्गी टीका नलगाएको निधार
अपुरो र अधुरो हुन्छन् रे भन्ने सुनेर
चर्किएको घर, बुबाको चाउरिएको अनुहार
भोकाएको गोजी देखेरै
फुपूले उता सहरमै बनायो रे
अर्को दाजुभाइ
आमाको पनि हाल उस्तै छ
रोइकराई बसेकी छिन्
मामाले अर्कै दिदीबहिनी बनाए रे
आमा भ्याउँदैन भन्ने बहानामा
देउसी भैली पनि आउँदैनन् हाम्रो घरमा
चुहिएको छानो देखेर
आउँछन् त आँगनभरिका
सयपत्री र मखमली फाँड्नेहरू
भाइटीकामा सपरिवार
वनवास जाने भन्छन् बा
त्यहाँ कोही तर्साउन आउँदैनन् रे
सप्तरङ्गी टीका लगाएकाहरू
अघाएकाहरू
मुहारभरि हाँसो बोक्नेहरू
त्यसैले दिदी अर्को साल चैँ
पक्कै आउनु है
मलाई घरैमा बस्ने रहर छ
विवाह पनि गरिबसँग गर्नुस् है
धनीसँग गरे बा आमा जस्तै
म पनि रुनुपर्छ
यसपटक चित्त बुझाउला
अर्को साल चर्किएको घर
सँगै लिपाैंला, टालौंला
सहर जस्तै झिलिमिली पारौंला
बा आमाका फाटिएका लत्रिएका मनहरू
त्यसैले अर्को साल पक्कै आउनु है दिदी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

