तिम्रो यादका लर्कोले
मेरो एक एक सर्को
सास चलिरहेको छ
अगाडि बढिरहेछ जिन्दगी
एक एक धर्को गरेर
सुस्तरी सुस्तरी
थाहै नपाइकन श्वास फेरेजस्तै

एक दिन बन्द हुनेछ
मेरो श्वास प्रवाह
हिँड्दा हिँड्दै टक्क अडिनेछु म
चल्दाचल्दै छाड्नेछन् चल्न हात मेरा
बन्द हुनेछ लेखिन तिम्रा यादका गीत

तिम्रो निकट पुग्ने
आशमा उठेका
मेरा पाइलाहरू
जम्नेछन् कहिले नउठ्ने गरी
बिथोल्न सक्ने छैनन् मलाई
तिम्रो सम्झनाले
केही गरे पनि

तिम्रो यादका भारमा
वर्षौदेखि थिचिएको
मेरो दिल र दिमाग
हावामा पारिजातको सुगन्ध
मिसिएर सनै सनै
बिलाएजस्तै बिलाउनेछ
आर्यघाटबाट धुँवाधुँवा
बनेर विशाल शून्यमा

कस्सम त्यो दिन
अवश्य आउनेछ तिमीलाई
अन्तिम पटक मेरो याद

किनकि
खोज्दै खोज्दै
तिमीलाई
मेरा सहश्र आँसु
पीडा, एक्लोपन
अनि ऐँठन
बादलको बुँई चढेर
भेट्न आउनेछन्
तिम्रो देशमा
मेरो यादको बाडुल्की बनेर

त्यो दिन तिमी पनि
तिम्रो अन्तरंगमा
लुकेर बसेका
मेरा यादका जिवाष्माहरूलाई
एक थोपा आँसु बनाएर
खसाइदिनु
सिँचिदिनु मेरा
यादहरूलाई

समुद्रको पानीमा
एक थोपा पानी मिसिएर
समुद्रै बनेजस्तै
तिमी पनि मेरो हुनेछौं
अनि त्यो दिन केही क्षणलाई
म पनि तिम्रो हुनेछ ।